
काठमाडौँ- पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा परेको विषयमा असन्तुष्टि व्यक्त गरेकी छन्। रास्वपाका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झासँग मंगलबार भएको भेटमा भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन्।
भण्डारीसँग भेटको कुराकानीबारे झाले भने, ‘सभापति लामिछानेलाई राजनीतिक मुद्दा लगाएर थुन्नु गलत हो भन्ने धारणा उहाँ (भण्डारी) को थियो।’ उनले सहकारीको पैसा नउठेको अवस्थामा मान्छे थुनेर सरकारले गलत काम गरेको भनाइ भण्डारीको थियो।
झासँगको भेटमा भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको बताएकी थिइन्। ‘म अघि बढिसकेँ। सकेसम्म एमालेबाटै राजनीति गर्छु। नभए विकल्प खोज्छु,’ भण्डारीको भनाइ उधृत गर्दै झाले भने। भण्डारीलाई एमालेले पूर्वराष्ट्रपतिकै हैसियतमा रहन अनुरोध गर्दै सदस्यता खारेज गरिदिएको छ। उनी मदन भण्डारी फाउन्डेसनमार्फत गतिविधि अघि बढाउँदैछिन्।
सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा छन्। गोरखा मिडिया नटवर्कअन्तर्गत ग्यालेक्सी टिभीमा काम गर्दा सहकारीको रकमबाट चेक काटेको आरोप उनीमाथि छ।
रविमाथि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। तर रविमाथि प्रतिशोधको राजनीति भएको भन्दै रास्वपा असन्तुष्ट छ। रास्वपाले प्रतिशोधको राजनीति भन्दै हस्ताक्षर अभियान समेत चलाइरहेको छ। रास्वपा मात्र होइन अन्य दलका नेताहरू समेत सत्तारुढ दलहरूले प्रतिशोध गरेको बताउने गरेका छन्।