पुस्तक चर्चा

‘ईश्वरका फूलहरू’ मा राजु सिटौला

विमल अधिकारी ७ भदौ २०८२ १७:५५
26
SHARES
‘ईश्वरका फूलहरू’ मा राजु सिटौला

अमेरिकाको कोलोराडोमा लामो समयदेखि बसोबास गर्दै आफ्नो जीवनयापनसँगै साहित्यिक क्रममा सक्रिय रहने राजु सिटौलाले ‘ईश्वरका फूलहरू’ नामक कवितासङ्ग्रह बजारमा ल्याएका छन्। उक्त सङ्ग्रहमा ३६ गद्य कविता छन्। प्रायः सूत्रात्मक लामा कविता समेटिएको यस सङ्ग्रहमा केही मझौला आयामका कविता पनि पाइन्छन्।

शुद्धिपठनका सिलसिलामा ईश्वरका फूलहरूको पाण्डुलिपि डिजिटल सञ्चारमार्फत प्राप्त भएको थियो। सरसर्ती पाण्डुलिपिमा रहेका कविता पढ्दा कवि सिटौला हरेक कुरा गहिरिएर चिन्तन गर्छन् भन्ने प्रस्ट हुन्छ। त्यस्तै उनका कविता पृथक् खाले लाग्छन्।

बौद्धिकताको कसीमा कविता लेख्न रुचाउने राजुले आफूलाई राम्रा चिन्तकको परिचय दिन खोजेको पाइन्छ। राजु विज्ञानका विद्यार्थी हुन्। उनका कवितामा भूगर्भशास्त्रलगायत विविध चिन्तन भेटिन्छ। कवि सिटौला यस सङ्ग्रहमार्फत आफ्नो जीवन भोगाइ, पीडा एवं गन्थन पोख्छन्। कवि हृदयले भोगेका अनुभूतिको प्रस्फुटन यस सङ्ग्रहका केही कवितामार्फत भएको पाइन्छ। कविको सुखानुभूति–दुखानुभूति, जीवनसङ्घर्ष एवं पारिवारिक जीवन पनि केही कवितामा भेटिन्छ। उनी डायस्पोरिक जीवनका भोगाइटोकाइ एवं मानवीय चरित्रमाथि मात्र कलम चलाउँदैनन्, प्रकृतिप्रेम एवं जीवन जगत्‌प्रति पनि गम्भीर छन्।

किसान र ढुङ्‌गाबारे लेखिएको कविताले कवि राजु प्रकृतिप्रेमी हुन् भन्ने पुष्टि गर्छ। त्यस्तै आफ्नै छोराप्रति सम्बोधन गरी लेखिएको कविता अब्बल लाग्छ। किसान, ढुङ्‌गा र छोरा रायनबारे लेखिएका कविताले पाठकमा दीर्घकालीन प्रभाव पार्छ नै। छोराप्रति गरिएको सम्बोधन कविताले एक आमाबाबुको सन्तानप्रतिको चिन्ता दर्साएको छ।

राजु समसामयिक राजनीतिक सामाजिक विकृति-विसङ्‌गति एवं भ्रष्टाचारविरुद्ध कवितामार्फत आक्रोश पोख्छन्। भाषाशैली, चिन्तन, विचारका आधारमा सिटौलाका कवितामा निखारपन देखिन्छ। कविको यो पहिलो पुस्तकाकार कृति भए पनि उनी कलिलै उमेरदेखि साहित्यिक चिन्तन गर्छन्, कलम चलाइरहन्छन् भन्ने कुराको पुष्टि गरेको छ ‘ईश्वरका फूलहरू’ ले।

जे होस् अनेसास केन्द्रीय कार्यसमितिका वर्तमान महासचिव एवं कवि राजु सिटौलालाई नवोदित कविका रूपमा ‘ईश्वरका फूलहरू’ कृतिले चिनाउने कुरामा ढुक्क हुने प्रशस्तै आधार देखिन्छ। उनको लेखन र चिन्तन शैली पृथक् छ। यो सिटौलाको काव्यगत विशेषता हो। आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कृतिमार्फत साहित्यिक वृत्तमा चिनियून्। कविलाई शुभकामना! कृतिले सफलता प्राप्त गरोस् भनी शुभेच्छा प्रकट गर्दछु।

प्रकाशित: ७ भदौ २०८२ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast