
काठमाडौँ- नेपालको पुरानो हल विश्वज्योति सिनेप्लेक्स आईएनआई सिनेमाजमा गाभिएको छ। काठमाडौँको जमलस्थित रहेको उक्त हलको सम्पूर्ण व्यवस्थापन अब नेपालकै तेस्रो मल्टिप्लेक्स हल आईएनआई सिनेमाजले लिएको हो।
शुक्रबार विश्वज्योति सिनेप्लेक्स र आईएनआई सिनेमाजबीच आधिकारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा आईएनआई सिनेमाजका सीईओ एवं सह-संस्थापक गृहेन्द्र मुनकर्मी, सीओओ एवं सह-संस्थापक सुरेन्द्रकुमार थापा र विश्वज्योति सिनेप्लेक्सका सीईओ रोहनसिंह सराफ र निर्देशक रिवाजसिंह सराफले अध्यक्ष मोहनसिंह सराफको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि उनीहरूले विश्वज्योति सिनेप्लेक्सलाई अब आईएनआई सिनेमाज- विश्वज्योतिको नाममा पुनः ब्रान्डिङ गरिने बताएका छन्।
योसँगै आईएनआई सिनेमाज देशभर पाँच वटा मल्टिप्लेक्स सञ्चालन गर्ने दोस्रो ठूलो मल्टिप्लेक्स चेन बनेको छ। जसमा अब काठमाडौँ उपत्यकाभित्र ल्होत्से, आईप्लेक्स र विश्वज्योति गरी तीन र उपत्यका बाहिर बुटवल र सिमरामा दुई वटा मल्टिप्लेक्स छन्।
यी सबै हलमा अहिले १० वटा स्क्रिन र सिट संख्या कुल १८ सय ६६ पुगेको छ। आईएनआई सिनेमाजले डिसेम्बर २०१९ मा गोङ्गबुमा रहेको ल्होत्से मलबाट व्यावसायिक यात्रा सुरु गरेको थियो।