
काठमाडौँ– दुई पटक राष्ट्रपति भइसकेकी विद्या भण्डारी यतिबेला नेकपा एमालेको संगठित सदस्य बन्न र एमालेको नेतृत्व गर्ने उत्कट योजनामा छन्। १० वर्षपछि फेरि पार्टी राजनीतिमा सक्रिय हुन खोजेकी उनी आफ्नै पुरानो पार्टीबाट धक्का खाएकी छन्।
विद्या अहिले पूर्वराष्ट्रपति, एमालेकी पूर्वउपाध्यक्षसँगै एमालेकी पूर्व सदस्य हुन्। मतलब, उनी एमालेकी सदस्य समेत छैनन्। किनकि, यसअघि नै एमालेको केन्द्रीय कमिटी बैठकले उनको सदस्यता नवीकरण नगर्ने भनिसकेको छ।
गत वर्ष सदस्यता नवीकरण गरेको सदस्यता एक वर्षमै एमालेले रद्द गरेको छ। यति हुँदा पनि उनको गति घटेको छैन। उनलाई एमालेको नेतृत्वले सदस्यता खोसिदिएकोमा आक्रोश छ। र, यो प्रष्टै देखिन्छ।
यही कारण उनी प्रचारमुखी कार्यक्रममा ध्यान दिइरहेकी छन्। एमालेले सदस्यता खोसेकोमा यसअघि नै उनले पत्रकार सम्मेलनमार्फत आफ्नो सदस्यता कसैले खोस्न नसक्ने बताएकी थिइन्।
त्यसपछि विद्याको गति झनै बढेको छ। एमाले कार्यकर्तासँग उनको घुलमिल बढेको छ। यसैसन्दर्भमा केही दिनअघि उनी पूर्वको भ्रमणमा पुगिन्। मोरङ पुगेकी उनले आफ्नो राजनीतिक जीवन सुरु भएको स्थान भन्न भ्याइन्।
बिहीबारमात्रै पनि विद्याले बानेश्वरको थापागाउँमा रहेको मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालयको उद्घाटन गरिन्। हुन त त्यो सम्पर्क कार्यालय थियो। तर कार्यालय उद्घाटनको नाममा विद्याले केही रणनीतिक फाइदा उठाउन खोजेकी छन्।
उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलाई कार्यालयको साक्षी राखिन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यालाई सक्रिय राजनीतिमा आउन नदिन ‘ब्रेक’ लगाइरहे पनि तीन जना पदाधिकारी उनको पक्षमा खुलेका छन्। विद्यालाई राजनीतिमा आउन रोक्न नहुने पक्षमा सुरूदेखि रहेका पोखरेल, ज्ञवाली र पाण्डे बिहीबार कार्यक्रममै उपस्थित भएर खुलेका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले त उनको पक्षमा बोल्न समेत भ्याए। यसबाट विद्या एमाले नेतृत्वसँग निरन्तर लड्नेछन् भन्ने स्पष्ट छ। पछिल्लो समय एमालेले विद्याको कार्यक्रममा नजान नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको भन्ने हल्ला चलेको छ। तर पनि थापागाउँको आजको कार्यक्रममा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
उनले त्यही मौकामा एमालेले आफ्नो सदस्यता खोस्न नमिल्ने सन्देश दोहोर्याइन्। उनले आफूले सदस्यता लिएको ४५ वर्ष भएको र त्यसबेला एमाले भन्ने पार्टी समेत नभएको दाबी गरिन्। ‘मैले माले हुँदै सदस्यता लिएको हुँ। च्यासलले नवीकरण नगर्ने भन्यो,’ विद्याले भनिन्। एमालेको मुख्यालय च्यासलमा छ। त्यही कारण उनले च्यासल शब्द प्रयोग गरेकी थिइन्।
‘२०३७ सालमै लिएको हुँ। ४५ वर्ष भएछ। राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको हो। पार्टीले निर्णय गरेर तपाईँ जानैपर्छ भनेपछि मैले शपथ खाएको हुँ। मैले राष्ट्रका लागि मर्यादित भएर गर्नुपर्ने काम गरेको छु,’ उनले भनिन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलको नाम लिँदै उनले आफ्नो सदस्यतामाथि नै प्रश्न उठेको बताइन्।
‘म निरन्तर काम गरिरहन्छु। हुनत मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन्। तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले। यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो। मैले माले कालदेखि नै सदस्यता लिएको हुँ,’ भण्डारीले भनिन्।
उनले आफू आलोचनाभन्दा बाहिर नरहेको बताउँदै तथ्यको आधारमा आलोचना गर्न आग्रह गरिन्।
‘म आलोचनाभन्दा बाहिर छैन। आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यको आधारमा हुनुपर्छ। म नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु,’ भण्डारीले भनिन्, ‘नेकपा एमालेले जुन मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ त्यसको मर्म र भावनाको आधारमा काम गर्ने हो। त्यसको मर्म र भावना अनुरुप काम भयो कि भएन भन्ने समीक्षा गर्ने बेला भएको छ।’
उनले राष्ट्रपति हुँदा समेत एमालेकै नीति अनुसार काम गरेको दाबी गरिन्। उनी निकट एमाले नेताहरूका अनुसार उनी अब निरन्तर देश दौडाहामा निस्कने तयारीमा छन्। उनीहरूका अनुसार विद्या एमालेको समानान्तर गतिविधि बढाउने ध्याउन्नमा छिन्। किनकि, एमालेकै मुख्यालय बराबरको कार्यालय उनले खोलेकी छन्। जहाँबाट उनी मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को वकालत गर्ने बताएकी छन्। एमाले पनि अहिले जबजकै मार्गदर्शक सिद्धान्तमा छ।
तर, विद्याको रणनीतिका कारण एमाले नीतिगत रुपमा कमजोर हुने एमाले नेताहरूको बुझाइ छ। किनकि, एमालेमा भइरहेका कामकारबाही जबज मुताबिक नभएको उनीहरूको भनाइ छ।
असन्तुष्टिको भार थाम्ने भण्डारी-नीति
अहिले एमालेभित्र तीब्र असन्तुष्टि छ। एमालेमा ओलीको पेलानमा परेका कार्यकर्ता दुखेसो गरिरहेका छन्। एमालेकै भातृ संगठनमा समेत कतिपयमा प्रतिस्पर्धा गर्न नदिएको त कतिपयमा ओलीले आधिकारिक प्यानल बनाएर हराएको आरोप लगाइरहेका छन्।
त्यसो त, अहिले पनि विद्या पक्षमा यसअघि जनवर्गीय संगठनमा हार व्यहोरेकै नेताहरूको दबदबा छ। युवा संघको अध्यक्षमा हारेको सुमन पुरी, उपाध्यक्षमा हारेका प्रकाश गौतम, पर्वत भण्डारी, अनेरास्ववियुको अध्यक्षमा पराजित प्रकाश पौडेललगायतका नेताहरू विद्या पक्षमा खुलेका छन्। उनले बिहीबारकै कार्यक्रममा पनि कार्यकर्तालाई नडराउन अनुरोध गरेकी छन्। यसको मतलव उनी आफू रक्षक बन्ने सन्देश दिएकी छन्।