
नैरोबी (रासस/एपी)- सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ।
बच्चाहरूको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण कोष (सीसीएफ) की संस्थापक लौरी मार्करले बुधबार यी सबै कुपोषित भए पनि स्थिर अवस्थामा रहेको बताइन्। उनीहरू लामो समयसम्म कैदमा राखिएको कारण कुपोषित र अपांग जस्ता थिए।
‘एउटा आठ महिनाको बच्चा ६ महिना बाँधिएको कारण हिंड्न सक्दैनथ्यो भने पाँच महिनाको बच्चा धेरै कुपोषित थियो, शरीरभरि घाउ थिए र छालामुनि बोटफ्लाई कीरा थियो,’ उनले भनिन्, ‘तर यस्ता बच्चाहरूलाई हामीले भोकमरीमा परेका मानिसहरू जस्तै रिफिडिङ सिन्ड्रोमको ख्याल राख्दै बिस्तारै खानामा परिचित गराउनुपर्छ।’
उत्तरी सालाह जिल्लामा अगस्ट १४ मा गरिएको कारबाहीमा बच्चाहरू बोकेका दुई जनालाई पक्राउ गरिएको थियो। अधिकारीहरूले नागरिकलाई सन्दिग्ध वन्यजन्तु व्यापार गतिविधि रिपोर्ट गर्न आग्रह गरेका छन्।
वातावरण मन्त्रालयका निर्देशक अब्दिनसिर हुसेन सइदले पत्रकारहरूलाई चितुवाका बच्चाहरू यस्तै अपरेशनमा उद्धार गरिएका अन्य एक सय नौ वटाको समूहमा पनि सामेल रहेको बताए।
सोमालिल्यान्ण्ड अवैध वन्यजन्तु व्यापारको प्रमुख पारवहन केन्द्र हो। हर्न अफ अफ्रिकाबाट सयौँ चितुवा र अन्य प्रजातिहरू एडनको खाडी हुँदै खाडी देशहरूमा पठाइन्छन्।