
काठमाडौँ- पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरु मुलुकमा सुशासन कायम गर्न असफल भएको बताएकी छन्। बिहीबार काठमाडौँमा मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताइन्।
देश पूर्ण लोकतान्त्रिक युगमा पुगिसक्दा पनि जनताको इच्छा आकांक्षा पुरा हुन नसकेको उनले उल्लेख गरिन्। भण्डारीले अहिले संसदसमेत निरीह थलोजस्तो भइरहेको टिप्पणी गरिन्।
ठूला दलहरुले संविधानमा प्रश्न उठाउँदै संशोधनका लागि सहमति गरे पनि संशोधनको मुद्दामा छलफल नै हुन नसकेको उनले बताइन्।
भण्डारीले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो? भन्दै प्रश्न गर्दै जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने जिकिर गरिन्।
त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएकाले त्यसको मर्म र भावना अनुरुप काम गर्ने बताइन्। उनले आफ्नो संगठीत सदस्यमाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरिन्।
एमालेले सदस्यता नदिए पनि पार्टीको हितमा काम गरिराख्ने उनले बताइन्। भण्डारीले आफू लामो समयदेखि एमालेमा सक्रिय रहेको र एमालेकै निर्देशनमा राष्ट्रपति बनेको स्पष्ट पारिन्।
कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादको विचारलाई समर्थन गरेकै आधारमा कुनै पनि बेला चूनौतिको सामना गर्नुपर्ने भएकाले हेक्का राख्नुपर्ने बताए। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा जबजको विचार अघि सारिएकाले यसमा अडिग रहनुपर्ने उनले उल्लेख गरे।
पोखरेलले मदन भण्डारी फाउन्डेसनले स्थापना गरेको कार्यालयले उदेश्यअनुसारको काम गर्ने र मदन भण्डारीका योगदान र विचारहरुलाई जनतामाझ पुराउने विश्वास व्यक्त गरे।