
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफू शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विद्यालय शिक्षा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको भन्दै गुनासो गरेका छन्। उनले आफू विधेयक रोक्न नभई सहज वातावरण बनाउन समितिमा आएको स्पष्ट पारे। प्रमुख सचेतक घिमिरेले समितिको आजकै बैठकबाट विधेयक पारित गर्नुपर्ने पनि बताए।
सिंहदरबारमा बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले समितिकै सांसदहरूले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताएका हुन्। ‘कसैको निजी इन्ट्रेस्टमा विधेयक रोक्न आयो भन्नेसम्मको आरोप यो समितिमा खपेको मान्छे हुँ म। समितिको सदस्यले समितिमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्ने कुनियतको ढंगले साथीहरुले परिभाषित गर्नुभयो। त्यसमा पनि मेरो केही आपत्ति छैन। म उहाँहरूको धारणालाई सम्मान नै गर्दछु,’ घिमिरेले भने।
प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको बताए। आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताउँदै उनले आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको बताए।
त्यसैगरी घिमिरेले विधेयक आजै समितिबाट पारित गरेर संसद्मा टेबुल गर्नुपर्ने पनि बताए। बैठकमा उनले भने,‘विधेयकलाई आजै पास गरेर लैजाऔँ।’
निजी विद्यालयमा आवासीय छात्रवृत्तिमा २.५ प्रतिशतमा सहमति भएको कुरा आफूलाई शिक्षामन्त्री रघुजी पन्तले सुनाएको पनि घिमिरेले बैठकमा सुनाए। उनले भने, ‘सुरुवात त गरौँ भन्ने थियो। त्यो ठिकै छ। पछि थप्दै जान सकिने अवस्था भइहाल्छ।’