सर्लाही गोलीकाण्ड : रामपुकारको हत्या गर्ने धर्मेन्द्रले श्रीमतीको टाउकोमा हानेका थिए गोली

हिमाल प्रेस २ भदौ २०८२ २१:०१
24
SHARES
सर्लाही गोलीकाण्ड : रामपुकारको हत्या गर्ने धर्मेन्द्रले श्रीमतीको टाउकोमा हानेका थिए गोली प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सर्लाही हरिपुर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादव आफ्नो घर अगाडि बसिरहेका थिए। समय थियो– साउन ३० गते राति ८ : २० बजे। त्यही नगरपालिका वडा नम्बर ५ का अन्दाजी २६ वर्षीय धर्मेन्द्र राय भन्ने धिरेन्द्र राय बीआर ३० एजी २३५४ नम्बरको मोटरसाइकल चलाउँदै रामपुकार बसेको ठाउँमा पुग्छ। मोटरसाइकलको पछाडि सिटमा अर्को एक जना पनि बसेको हुन्छ।

मोटरसाइकलको पछाडि सिटमा बसेका व्यक्ति पेस्तोल निकालेर रामपुकारको टाउकोमा गोली हान्छ। गोली हान्ने व्यक्ति र धर्मेन्द्र मोटरसाइकल चढेर घटनास्थलबाट फरार हुन्छ। घटनाबारे थाहा पाएसँगै त्यहाँ पुगेको प्रहरी टोलीले गोली लागेर घाइते भएका रामपुकारलाई महोत्तरीको सम्सी गाउँपालिका पर्सास्थित जानकी हेल्थकेयर उपचारका लागि लग्छ। चिकित्सकले भने उनलाई मृत घोषणा गर्छ।

रामपुकारलाई गोली हानेर भाग्ने क्रममा धर्मेन्द्र र गोली हान्ने व्यक्ति चढेको मोटरसाइकल हरिपुर्वा–७ बसन्तपुर–बाँके–संग्रामपुर सडकखण्डमा दुर्घटनामा पर्छ।

र्दुघटनापछि मोटरसाइकलको पछाडि सिटमा बसेका व्यक्ति फरार हुन्छ भने धर्मेन्द्रलाई प्रहरीले उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लग्छ। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइन्छ।

३१ साउनमा प्रादेशिक अस्पताल जनकपुरबाट डिस्चार्ज भएका धर्मेन्द्र यतिबेला सर्लाही प्रहरीको हिरासतमा छन्। रामपुकारका छोरा सुमित राय यादवसँग झैँझगडा र वादविवाद रहेका विषयलाई लिएर उनका बुबालाई गोली हानेको धर्मेन्द्रले प्रहरीसमक्ष बयान दिएका छन्। त्यस्तै उनले मलंगवा–९ स्थित सुशिल साहको घरमा डेरा लिएर बस्दै आएको समेत बताएका छन्।

धर्मेन्द्रले दिएको बयानका आधारमा डेराको कोठाबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान र फायर भइसकेको गोलीको खोका एक थान बरामद गरेको छ। रामपुकारको हत्या गरेका धिरेन्द्रले यसअघि आफ्नी श्रीमती चित्रलेखाकुमारी यादवको हत्या गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनले गत वर्ष असोज १० गते रातिको समयमा आफ्नो घरमा श्रीमती चित्रलेखा र बुबा रामदिनेश रायमाथि गोली प्रहार गरेका थिए। निधारमा गोली लागेको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँया हातमा गोली लागेका बुबा रामदिनेश घाइते भएका थिए।

छोरो धर्मेेन्द्रका विरूद्ध बुबा रामदिनेशले असोज १४ गते जिल्ल प्रहरी कार्यालय सर्लाहीमा कर्तब्य ज्यान तथा ज्यानमार्ने उद्योगमा जाहेरी दिएका थिए। त्यो घटनापछि फरार रहेका धर्मेन्द्र रामपुकारको हत्यापछि प्रहरी फन्दामा परेका छन्।

रामपुकार हत्याका साथै बुबाले दिएको जाहेरीमा समेत अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। साथै धर्मेन्द्रसँगै मोटरसाइकल चढेर आएका गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २ भदौ २०८२ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast