पूर्वपश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

हिमाल प्रेस २ भदौ २०८२ २०:१३
12
SHARES
पूर्वपश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन। यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ। चालु आर्थिक वर्षमा गड्डाचौकी–चिसापानी सडक खण्ड १२६ किलोमिटर विस्तार तथा मर्मतका लागि तीन करोड बजेट विनियोजन गरिएको छ।

सडक डिभिजन महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बजेट अभावका कारण सडक विस्तार ढिलो भएको बताए। गत आर्थिक वर्षमा करिब रु तीन करोड मात्र विनियोजन भएपछि कल्भर्ट निर्माण र केही सडक मर्मत गरिएको थियो। वेदकोट नगरपालिकाको सुडास्थित बाढीले बगाएको पुल गत वर्ष निर्माण गरिएको छ। एक करोड ५० लाखमा निर्माण गरिएको उक्त योजनाको ८० लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। प्रमुख यादवले भने, ‘हामीसँग राजमार्ग मर्मत र विस्तारका लागि आवश्यक बजेट विनियोजन हुँदैन, बजेट अभावले काम गर्न सकिएको छैन।’

गड्डाचौकी–चिसापानी खण्डमा हालसम्म १२ किलोमिटर मात्रै सडक विस्तार गरिएको छ भने १२ वटै कल्भर्ट निर्माण गरिएका छन्। सडक डिभिजनले सहरी क्षेत्र र बस्ती नजिकको राजमार्गलाई दाँयाबायाँ तीन/तीन मिटर सडक चौडासँगै कल्भर्ट निर्माण गर्दै आएको छ।

पूर्वपश्चिम राजमार्गको यस सडकखण्ड विस्तार तथा मर्मतका लागि मात्रै बर्सेनि १५ करोड आवश्यक पर्ने प्रमुख यादवले बताए। पूर्वपश्चिम राजमार्गको लम्बाइ एक हजार २७ किलोमिटर छ। विश्व बैंक र एसियाली विकास बैंकसहितका दातृनिकायको सहयोगमा राजमार्गको विभिन्न खण्ड स्तरोन्नति सुरु गरिएको हो। तर गड्डाचौकी–चिसापानी खण्ड विस्तारका लागि अध्ययन सम्म हुन सकेको छैन।

सरकारले चालु आर्थिक वर्षमा गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न रु २१ अर्ब विनियोजन गर्ने घोषणा गरेपनि त्यसका लागि विभागबाट परामर्शदाता नियुक्ति, अध्ययन, ‘इआइए’, बजेटको स्रोत सुनिश्चतलगायत नभएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सन् १९६१ मा निर्माण सुरु गरिएको पूर्वपश्चिम राजमार्ग नेपालको प्रमुख रणनीतिक सडक हो। यसलाई चार लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ।

महेन्द्र राजमार्गको काँकरभिट्टा–चन्द्रौटा, इटहरी–कञ्चनपुर, कञ्चनपुर–कमला, कमला पथलैया, नारायणगढ–बुटवललगायतका खण्ड सडक विस्तार भइरहेको छ। धानखोलादेखि लमहीसम्म सडक स्तरोन्नति अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानबाट अघि बढाइएको छ। स्थानीयले गड्डाचौकी–चिसापानी सडक खण्ड विस्तार गरिनुपर्ने माग राख्दै आएका छन्। यो सडक खण्ड विस्तार नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ। यस राजमार्गको गड्चौकी–अत्तरिया सडक खण्ड गत आर्थिक वर्षमा मात्र १२६ वटा सडक दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरको तथ्यांकनुसार सो दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर प्रमुख लक्ष्मण पचभैयाले बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढेको बताए। उनले सडक संरचना साँघुरो हुनु दुर्घटनाको प्रमुख कारण भएको बताए। रासस

प्रकाशित: २ भदौ २०८२ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast