
काठमाडौँ- नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको कुल आय र खुद मुनाफामा गिरावट देखिएको छ। कम्पनीको चौथो त्रैमासिकसम्मको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ७८ लाख ३३ हजार (०.०८ प्रतिशत) ले घटेको हो।
यसैगरी कम्पनीको कुल आय ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (८.०३ प्रतिशत) ले कमी हो।
कम्पनीको ‘ईबीआईटीडीए’ १९ अर्ब २५ करोड ९१ हजार पुगेको छ, जु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८२ प्रतिशतले बढेको हो। तर, करअघिको मुनाफा ११ अर्ब २१ करोड ६३ लाख ४८ हजारमा सीमित भएको छ, जुन गत आर्थिक वर्षभन्दा ०.३० प्रतिशत कम हो।
खुद मुनाफा घटेर २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ६ अर्ब २३ करोड ५५ लाख २ हजार रहेको थियो। यसरी खुद मुनाफा ५७.२१ प्रतिशतले घटेको छ। त्यस्तै कम्पनीको प्रति सेयर आम्दानी १४.८२ रुपैयाँ कायम भएको टेलिकमले जनाएको छ।
सार्वजनिक विवरणअनुसार यस्ता छन् आय र मुनाफा घट्ने कारण :
OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब १४% कमी।
GSM अनुमतिपत्र नवीकरणका लागि २० अर्ब भुक्तानी तथा कर्मचारी निवृत्तिभरणका लागि छुट्ट्याइएको रकमका कारण ब्याज आयमा कमी
प्रतिस्पर्धी ISP हरुले Wi-Fi सेवा विस्तार गरेपछि Mobile Data प्रयोग घट्नु
विकट क्षेत्रमा सेवा विस्तार गर्दा बढी लागत तर कम प्रतिफल
दररेट कटौतीसहितको नियामकीय नीतिले राजस्वमा प्रतिकूल असर
पेन्सन योजनाको खर्च लेखांकन, स्थगन कर, कानुनी मुद्दा तथा सम्पत्तिमा Expected Credit Loss का कारण थप आर्थिक भार
कर्मचारी निवृत्तिभरण गणनामा Discount Rate घटेकाले खर्च बढ्नु