
नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको वडा २३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ। क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा वृक्षरोपण गरिएको हो। कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्त्वबारे बुझाउनु रहेको आठ मिलियन ट्रिजका प्लान्टिङ डाइरेक्टर हेमन्तराज काफ्लेले जानकारी दिए।
कार्यक्रमका सभापति एवम् क्लिन अप नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेले वन संरक्षणका पक्षमा वृक्षरोपणको महत्त्वबारे प्रकाश पारेका थिए। उनले भने, ‘प्रत्येक विरुवा एक जीवन हो, यसले वातावरण मात्र होइन, हाम्रो भविष्य संरक्षित गर्छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले राज्य स्तरबाट वन क्षेत्रमा दिगो व्यवस्थापन र सहभागी प्रणालीको आवश्यकता औँल्याए।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्थानीय तहबाट वनसम्बन्धी दिगो पहललाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेस जिल्ला सचिव सुधांशु कोइरालालगायतले वनको समृद्धिका लागि समुदायको सशक्त संलग्नता हुनुपर्नेमा जोड दिए।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका शाखा व्यवस्थापक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा कार्यक्रम सफल भएको बताइन्। उनले दिगो वन व्यवस्थापनमा बैंकले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्यले जलवायु परिवर्तन, संरक्षण र हरित योजनासम्बन्धी जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याए।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधांशु कोइराला, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, नेपालगन्ज मोडेल एकेडेमीका प्रिन्सिपल विज्ञान शाह, युनाइटेड विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारी तथा विभिन्न विद्यालयका विद्यार्थी, वडा २३ का वडा अध्यक्ष, नागरिक समाजका कृष्णप्रसाद श्रेष्ठ, लाइन्स डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लाइन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ २३ का बासिन्दासहित २०० जना भन्दा बढीको उपस्थिति थियो।
कार्यक्रममा महुवा, बररो, अमला , शिरीष, लिची, अम्बा, अर्जुन गरी दुई हजारभन्दा बढी बिरुवा रोपिएको थियो।