दाङमा बिक्न छाडे सारंगी, सुनिन छाड्यो धुन

हिमाल प्रेस १ भदौ २०८२ १०:२९
10
SHARES
दाङमा बिक्न छाडे सारंगी, सुनिन छाड्यो धुन

दाङ- पछिल्लो समय सारंगी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको संख्या घट्दै गएको छ। नयाँ पुस्तामा सारंगी बाजाप्रति रुचि नभएका कारण यसको संख्या घट्दै गएको हो। गाउँमा सारंगी बाजा बजाउने मानिस नहुँदा बनाएका सारंगी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउँछन्।

करिब तीन दशक बढी समयदेखि सारंगी बाजा बनाउँदै आएका डाइवर पछिल्लो समय आफ्नो पेसा संकटमा परेको बताउँछन्। सारंगी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उनले भने, ‘पहिले सारंगी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारंगी बिक्नै छाडिसकेको छ। बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ।’

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारंगी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ। पहिलेजस्तै सबैले गीत गाउने र सारंगी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारंगी बजाउन जान्ने सीमित मानिसमात्र छन्। गाउँमा सारंगी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उनले बताए। गाउँमा सारंगी बजाउने कोही भए पो बनाएका सारंगी बिक्थे। अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन्। बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन। पहिले महिनामा सात–आठवटा सारंगी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउँछन्।

त्यसैगरी, सारंगी बनाउने कलामात्र संकटमा परेको होइन,आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ। सारंगी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उनको भनाइ छ। जिल्लामै सारंगी बनाउने आफूमात्र भएको भन्दै उनले भने, ‘आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारंगी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ।’

सामुदायिक वनका कारण जंगलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारंगी बनाउने गरेको उनी बताउँछन्। उनका अनुसार साना आकारका सारंगी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारंगी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउँछन्।

सारंगीको महत्व र संरक्षण घट्दै जाँदा सारंगी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ। सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन्।रासस

प्रकाशित: १ भदौ २०८२ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast