एमालेको दोस्रो विधान सम्मेलन : को को हुन्छन् सहभागी? विद्यालाई ‘नो इन्ट्री’

हिमाल प्रेस १ भदौ २०८२ ८:३०
32
SHARES
एमालेको दोस्रो विधान सम्मेलन : को को हुन्छन् सहभागी? विद्यालाई ‘नो इन्ट्री’ एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा सहभागी सदस्यहरू। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- आगामी भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेको दोस्रो विधान महाधिवेशन चल्दैछ। ललितपुरको गोदावरीमा चल्ने महाधिवशेनमा देशभरबाट  २३ सय ९२ जना सहभागी हुने एमालेले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । तर, पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्या भण्डारी समेत अनुपस्थित हुने छिन्। उनको सदस्यता यसअघि नै खारेज भएको कारण उनी उपस्थित हुने सम्भावना छैन।

२०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।

हिजो भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो ।

यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ। स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन्।

बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ। यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।

महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकोले केही दिन भित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, फ्लयार, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक बनाउने तयारी छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ।

गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन्। महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।

एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेश गर्नेछन्।

एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरू बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।

व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधि तय गर्ने उत्सव भएकोले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

महासचिव पोखरेलले व्यवस्थापनको जिम्मा पाएका सबै समितिहरूलाई तीव्रताका साथ काम गर्न पनि निर्देशन दिनुभएको छ । एमालेले आज देखि महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।

प्रकाशित: १ भदौ २०८२ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast