
काठमाडौँ- नाट्यकर्मी सम्राट भुजेलको लेखन र निर्देशनमा नाटक ‘आवर्ती’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नाटकबारे जानकारी दिएका छन्।
नाटकमा मानव आत्मा खोजको कथा प्रस्तुत गरिने थिएटरले जनाएको छ। थिएटरका अनुसार नाटकले जीवनमा जस्तै मृत्युपछि पनि आफ्नै गन्तव्य र दिशा हुने कुरा समेटेको छ।
यही साउन ३० देखि सुरु हुने नाटक आगामी भदौ १५ सम्म मञ्चन हुनेछ। यहीमार्फत नाटकमा मोडल तथा कलाकार गरिमा शर्माले पनि डेब्यु गरेकी छन्। यो उनको पहिलो नाट्य अनुभव हो। उनीसहित मञ्चमा नाट्यकर्मी प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दीपेश गजुरेलले अभिनय गर्नेछन्।
नाटक कोशा आर्टसको प्रस्तुति र मण्डला थिएटरको सहकार्यमा बनेको छ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन हुने नाटक शनिबार दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुने पोस्टरमा उल्लेख छ।