
काठमाडौँ- अगस्ट १२ मा विश्वभर जस्तै नेपालमा पनि हात्ती संरक्षणका लागि विश्व हात्ती दिवस मनाइन्छ। पछिल्लो समय विशेषगरी पूर्वी तराईमा बासस्थान अतिक्रमण, हात्तीमार्गमा बस्ती र पूर्वाधार विस्तार, चोरी-सिकारी लगायत कारणले मानव-हात्ती द्वन्द्व बढ्दो छ।
सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको मृत्यु भएको छ भने करेन्ट र अन्य कारणले ५५ हात्ती मरेका छन्। हात्तीबाट हुने कृषि, पशु र घरगोठको क्षति पनि ठूलो छ।
वन तथा वातावरण मन्त्रालयले फेन्सिङ, वैकल्पिक खेती, राहत, उद्धार-उपचार, रोजगार, छात्रवृत्ति र सचेतनामूलक कार्यक्रममार्फत द्वन्द्व न्यूनीकरणका प्रयास गरिरहेको छ। विज्ञहरूका अनुसार हात्ती हिँड्ने कोरिडोर संरक्षण, तत्काल प्रतिक्रिया संयन्त्र गठन र राहत प्रक्रियालाई सरल बनाउनु आवश्यक छ।
नेपालमा करिब २३० जंगली र १८० पाल्तु हात्ती छन्। तराईमा यी हात्तीहरूले करिब १.५ करोड मानिससँग एउटै आवास क्षेत्र बाँड्छन्। हात्तीलाई नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसूची-१ मा राखेर विशेष संरक्षण गर्दै आएको छ। रासस