
बाँके- वर्षायाम सुरु हुनु अघि बाढीको उच्च जोखिममा रहेका बाँकेको राप्ती नदी आसपासका बस्तीहरूलाई जोगाउन आपत्कालीन तटबन्ध निर्माण गरिएको छ। तटबन्ध निर्माणपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका करिब एक दर्जन बस्ती तत्कालका लागि डुबानको खतरा मुक्त भएका छन्।
नरैनापुरका ६० वर्षीय झिंगदेव वर्माले विगतमा राप्तीको बाढीले धेरैपटक घरबारविहीन बनाएको स्मरण गर्दै यस वर्ष तटबन्ध बनेपछि राहत महसुस भएको बताए। ‘कयौं वर्ष बाढीको त्रासमा बस्थ्यौं तर अब ढुक्क छौँ,’ उनले भने। सोही गाउँकी रामप्यारी यादवले पनि आपत्कालीन तटबन्धका कारण बाढीबाट हुने क्षति घट्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार अघिल्ला वर्षहरूमा बाढीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई विशेष रूपमा प्रभावित बनाउँथ्यो।
दुई वर्षअघि आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभावका कारण नयाँ तटबन्ध बन्न सकेको थिएन। यसपटक ‘जनताको तटबन्ध कार्यक्रम’ लमही, दाङले सिमेन्टका पोल, बाँस, बालुवा भरिएका बोरा र जाली प्रयोग गरी नयाँ प्रविधिबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो।
आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार दिनरात काम गरेर छोटो समयमा तटबन्ध निर्माण सम्पन्न गरिएको हो। स्थानीय दीपनारायण बर्मा र राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले तटबन्ध निर्माणले गाउँबस्तीमा राहत पुगेको बताए।
खल्ला झगडिया क्षेत्रमा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा पनि तटबन्ध निर्माण सुरु हुने जनाइएको छ। खल्ला झगडियामा ४०० मिटर लामो पक्की तटबन्ध मंसिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु ६ करोड ५ लाखमा ठेक्का लिएर काम सुरु गरिसकेको छ।