कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

हिमाल प्रेस २१ साउन २०८२ ८:१३
66
SHARES
कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

बागलुङ- विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ।

विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको ४८ करोड रुपैयाँ अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो।

तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रेको तयारी भइरहेको छ। उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो।

काठमाडौँमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो।

गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्रे थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्यांकन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरेका हुन्।

बागलुङ नगरपालिका–४ स्थित ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको एक दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको आठ दशमल छ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदा साथ कालोपत्रे गरिने निर्माण व्यवसायीका इन्जिनियर मनोज शर्माले जानकारी दिए। रासस

प्रकाशित: २१ साउन २०८२ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast