
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेटबारे पनि छलफल हुने बताइएको छ ।
विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने सम्बन्धमा, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप सम्बन्धमा, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान सम्बन्धमा र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।