प्रेमीसँग मिलेर सुन चोर्ने उजुरीकर्ता नै फन्दामा

विजय नेपाल १९ साउन २०८२ ११:५७
64
SHARES
प्रेमीसँग मिलेर सुन चोर्ने उजुरीकर्ता नै फन्दामा एआईको सहयोगमा तयार पारिएको स्केच।

पोखरा- स्याङ्जामा एक महिलाले आफैँले लुकाएको गरगहना र नगद हराएको भन्दै प्रहरीमा झूटो उजुरी दिएकी घटनाले गाउँमा सनसनी फैलिएको छ। आँधीखोला गाउँपालिका-१ की ४१ वर्षीया चन्द्रकुमारी गुरुङले गत १२ साउन साँझ साढे ७ तोला सुनका गहना र ४ हजार रुपैयाँ नगद चोरी भएको दाबी गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्।

प्रहरीले सात दिनसम्म गरेको सूक्ष्म अनुसन्धानबाट चोरी नभई उनले नै गाउँका अर्का युवक धनराज गुरुङसँग मिलेर उक्त सम्पत्ति लुकाएको खुलासा भएको हो।

प्रहरी अनुसन्धानअनुसार चन्द्रकुमारीका पति विदेशमा छन्। उनको विवाहोत्तर सम्बन्धका कारण सामान हराएको नाटक रचिएको प्रहरीले जनाएको छ। उनले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो। पीडित भनिएकी गुरुङसँग सोधपुछसमेत गर्‍यो। गुरुङ मौन रहन्थिन् भने उनको सट्टामा गाउँकै एक युवक बोल्न अघि सर्थे।

‘हामीले जबजब गुरुङलाई घटना विवरणका विषयमा सोध्थ्यौँ तबतब युवक विवरण दिन अघि सर्थे,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले तिनै युवकमाथि अनुसन्धान थाल्यौँ।’ ती युवक ३८ वर्षीय धनराज गुरुङ हुन्। धनराज गाउँका अगुवासमेत हुन्।

केही समयअघि स्याङ्जाको पञ्चमूलका १५ घरमा एकै दिन चोरीको घटना भएको थियो । तर चोरीमा संलग्न पत्तो लाग्न सकेको थिएन। स्थानीयले नाराबाजी गर्दा धनराज नै अगुवा बनेका थिए।

प्रहरीका अनुसार धनराज र चन्द्रकुमारीबीच आपसी हिमचिम हुने गरेको खुल्यो। धनराज स्थानीय युवा क्लब अध्यक्षसमेत थिए। प्रहरीमा उजुरी पुर्‍याउने उनै धनराजसँग पनि सोधपुछ थालियो । उनको क्रियाकलाप शंकास्पद पाएपछि अनुसन्धानको सुई प्रहरीले उनैतिर सोझ्यायो।

प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाउँदा उनीहरूले झगडामात्र गर्न खोज्ने, उग्र गतिविधि देखाउन थाले। धनराजकै घरमा समेत खानतलासी भयो। तर प्रहरीलाई असहयोग गर्न थालेपछि थप प्रहरी फोर्स माग्नुपरेको थियो।

एक सातासम्म सूक्ष्म अनुसन्धानपछि सुन चोरी नभई दुवै धनराज र चन्द्रकमारीको मिलेमतोमा लुकाइएको रहस्य खुल्यो। प्रहरीले थप केरकारमा अन्ततः सुन र नगद चन्द्रकुमारीकै घरको कम्पाउन्डमा भेटियो। उनीहरूले मिलेमतोमा सुन र नगद लुकाएर झुठा निवेदन दिएका रहेछन्। झुठा निवेदन दिएको आधारमा प्रहरीले चन्द्रकुमारी र धनराज गुरुङलाई गत १७ साउनमा पक्राउ परी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: १९ साउन २०८२ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast