
पोखरा– कवि अल्पज्ञानीद्वारा लिखित कवितासंग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौँमा आयोजित समारोहमा मदन पुरस्कार विजेता साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्सालले उज्यालो पर्खिरहेको मानिस पूर्वीय दर्शन र समाजको गहिरो छाप रहेको र यसले कविलाई थप परिष्कृत गरेको बताए। उनले भने, ‘कवितामा रहस्य र प्रश्न छन्।अल्पज्ञानीका कवितामा वस्तुगत चेतनामाथि आत्मगत चेतनाको हावी भएको छ। उनले आफ्ना कवितामा प्रश्न छाडी उत्तरको खोजीका लागि पाठकलाई जिम्मेवारी दिएका छन्। वास्तवमा उज्यालो यात्रा व्यक्तिमात्र नभई सिंगो सृष्टिकै उज्यालो पर्खाइ हो।’
कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक त्रिविका उपप्राध्यापक डा. अशोक थापाले अल्पज्ञानीका कविताले जीवनको उज्यालो आशा देखाएको र मान्छेको वर्तमानका विसंगतिमाथि व्यङ्ग्य प्रहार गरेको बताए।
अर्का समीक्षक उपप्राध्यापक डा. गीता त्रिपाठीले अल्पज्ञानीका कवितामा प्रकृति र समाजको सुन्दर अन्तर्घुलन रहेको बताइन्।
साठीको दशकको उत्तरार्धबाट काव्य यात्रामा लागेको कवि अल्पज्ञानी समकालीन नेपाली कवितामा परिचित नाम हो।
कास्कीको वेगनासमा जन्मिएका देवीरमण तिवारी नेपाली साहित्यमा ‘अल्पज्ञानी’ का नामले चिनिन्छन्। आफूलाई उज्यालो पर्खिरहेको मानिसका रूपमा चिनाउन चाहने उनी भन्छन्, ‘अरूलाई नदुखाउनु भनेर आफैँ दुखेको कविता लेख्न लगायो।’
सो अवसरमा उक्त कवितासंग्रहबाट कवि डा. वसन्त गौतम, सञ्जीव पौडेल, अमृत क्षेत्री र लक्ष्मीदेवी गौडेलले कविता वाचन गरेका थिए। डा. राजेन्द्र चापागाईँ आहातले स्रष्टा परिचय गराएका थिए।
साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षता तथा साहित्यकार डीडी अधिकारीद्वारा सञ्चालित कार्यक्रममा कविलाई काठमाडौँ मोडेल माविका प्राचार्य डा. नगेद्र अर्यालले शुभकामना दिएका थिए।
एकल शास्त्रीय छन्द कविता वाचन गरिसकेका अल्पज्ञानीको प्रस्तुत कृति मुक्त लयमा लेखिएको यो पहिलो कृति हो।
पेज टर्नरद्वारा प्रकाशित प्रस्तुत कविता संग्रहमा ६ भागमा ४७ कविता संग्रहित छन्।