
काठमाडौँ- पाकिस्तान जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का १०८ सदस्यलाई आतंकवादविरोधी अदालतले सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरूद्धको प्रदर्शनमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको हो।
मे २०२३ मा इमरान भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुन पुगेका बेला सुरक्षाकर्मीहरूले पक्राउ गरेपछि देशभर व्यापक प्रदर्शन भएका थिए। ती प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि थुप्रै पीटीआई कार्यकर्ताहरू पक्राउ परेका थिए।
अदालतको यो फैसलालाई इमरान नेतृत्वको पार्टीका लागि ठूलो धक्का मानिएको छ। सजाय पाउनेहरूमध्ये पाकिस्तानको राष्ट्रियसभामा विपक्षी नेता उमर अयुब खान पनि रहेका छन्। उनलाई १० वर्षको जेस सजाय सुनाइएको छ।
अदालतको निर्णयअनुसार पीटीआईका ६ सांसदहरूलाई अयोग्यसमेत घोषित गरिएको छ। विपक्षी दलहरूले आतंकवादविरोधी अदालतको यो फैसलाको कडा आलोचना गरेका छन्। उनीहरूले यसलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरेका छन्।
इमरान आफैँ अहिले जेलमा छन् र उनीविरूद्ध थुप्रै मुद्दा दायर छन्। यद्यपि उनको पार्टीले अदालतको निर्णयविरूद्ध पुनरावलोकनको तयारी गरिरहेको जनाइएको छ।