
काठमाडौँ- कवि, लेखक तथा सफल निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी २: सङ अफ च्याब्रुङ’ आगामी असोज ३ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शुक्रबार तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।
सार्वजनिक तीनमध्ये एक पोस्टरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल अटाएका छन्। पोस्टरमा एउटी बालिका र मिरुनालाई अघि हिँडिरहेकी छन्। पछिल्तिर लठ्ठी टेक्दै खोसेली बोकेका भरियासहित दयाहाङले च्याब्रुङ बोकेका छन्।
बाँकी दुई पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। फिल्मको कथा लिम्बू समुदाय र उनीहरूको संस्कृतिमा आधारित रहेको अनुमान लगाउन सकिन्छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन्। फिल्ममा अन्य कलाकार ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुले अभिनय गरेका छन्।
‘जारी’ २०८० सालको ब्लकबस्टर फिल्म हो। फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।