दर्दनाक गाजा, विपिनको अवस्थाबारे इजरायल नै अनभिज्ञ

प्रदीप ज्ञवाली १४ साउन २०८२ १५:२६
24
SHARES
दर्दनाक गाजा, विपिनको अवस्थाबारे इजरायल नै अनभिज्ञ

नेपाल र इजरायलबीच ६५ वर्ष पुरानो मित्रता छ। दुई देशबीच लामो समयदेखि कृषि क्षेत्रमा सहकार्य हुँदै आएको छ। इजरायल नेपाली युवाहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो। गत साता मैले सोही मुलुकको भ्रमण गर्ने अवसर पाएको थिएँ। पछिल्ला दिनमा इजरायल भन्नेबित्तिकै नेपाली युवक विपिन जोशीको नाम आइहाल्छ। २०२३ को अक्टोबर ७ तारिखमा हमासद्वारा अपहरणमा परेका जोशी अहिलेसम्म अज्ञात छन्। त्यही दिन हमासद्वारा १० जना नेपालीसहित करिब १२ सय इजरायली र विदेशीको निर्मम हत्या भएको थियो।

हामीले इजरायल भ्रमणका क्रममा जोशी अपहरणमा परेको किबुट्जको स्थलगत अवलोकन गर्‍यौँ। त्यतिबेला सोही घटनामा सँगै रहेका इजरायलीहरूसँग भेटघाट गरी जानकारी लियौँ। बिहानै ५०-६० जनाको समूहमा रहेका आक्रमणकारीहरू आक्रमण गर्न आएका रहेछन्। कतिपय बंकरमा लुकेर जोगिए। केही विदेशीलाई बंकरबाट निकालेर समेत आक्रमण गरिएको रहेछ। हामीले भेटेका एकजना प्रत्यक्षदर्शीले विपिन जोशीले हातले बम छेकेको कुरा सुनाए।

घटनास्थल एकदमै पीडादायक थियो। जहाँ विदेशी नागरिकको हत्या भएको थियो, त्यहीँबाट विपिन अपहरणमा परेका थिए। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरू बिहान ६:३० बजेतिर मोटरसाइकलमा आएका थिए। उनीहरूले अन्धाधुन्ध बन्दुक चलाउन थाले। त्यसपछि सबैजना बंकरमा लुके। बाहिर रहेका र अरूलाई पनि अन्धाधुन्ध गोली चलाइएको थियो।

आक्रमणकारीहरू तीन पटकसम्म फर्की फर्की आएका रहेछन्। भागेर गएका कतिपयलाई गेटमै आक्रमण गरेर हत्या गरेछन्। कतिलाई हिँड्दाहिँड्दै बाटोमा गोली हानेछन्। बन्दुक बोकेको हमाससँग निहत्था विदेशीहरूले प्रतिरोध गर्न सक्ने अवस्था थिएन।

नोभा भन्ने क्याम्पमा सांगीतिक कन्सर्ट भइरहेका बेला अन्धाधुन्ध आक्रमण हुँदा १२ सयभन्दा बढी मानिस मारिएका रहेछन्। हामीले त्यो ठाउँ पनि अवलोकन गर्‍यौं। त्यहाँ मारिएका सबैको छुट्टाछुट्टै तस्बिरहरू सम्झनाका लागि राखिएका थिए। छोराको सम्झनामा फूल चढाउन आएका आमाहरूलाई पनि भेट्यौं। त्यो दृश्यले हामीलाई निकै भावुक बनायो।

हामीले युद्धले ग्रसित गाजाको सीमा क्षेत्र पनि भ्रमण गर्‍यौं। गाजा सम्पूर्ण रूपमा ध्वस्त भएको छ। त्यहाँ जाँदा इजरायली सेनाले गोली चलाएको आवाज सुनिन्थ्यो। इजरायली परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग नेपाल-इजरायल सम्बन्धको ६५ औँ वार्षिकोत्सवका विषयमा कुरा भयो। दक्षिण एसियामा इजरायललाई मान्यता दिने पहिलो देश नेपाल हो। दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो।

इजरायलमा झन्डै ६ हजार नेपाली काम गर्छन्। अधिकांश नेपाली केयर गिभर पेसामा आबद्ध छन्। पछिल्लो समयमा इजरायलले कृषि क्षेत्रमा काम सुरु गरेको छ। ‘सिक्दै, कमाउँदै’ कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थीहरूलाई इन्टर्नसिपमा लगिन्छ। सन् २०२० मा इजरायल-नेपाल सम्झौताअन्तर्गत सातै प्रदेशमा कृषिका केन्द्र स्थापना गर्ने बुँदा थियो। कोभिड र अन्य कारणले त्यो काम अझै सम्पन्न भएको छैन। हामीले त्यो सम्झौता कार्यान्वयनमा जोड दियौं।

हामीले विपिनको रिहाइका लागि सम्पूर्ण नेपाल र नेपालीको माग छ भनेर कुरा राख्यौं। विपिनबारे प्राथमिकता र पछिल्लो अवस्थाबारे सोध्दा इजरायली अधिकारीहरूले अझै ५० बन्धक रिहा हुन बाँकी रहेको बताए। त्यसमा विपिन जोशी छन् कि छैनन् निश्चित नभएको उनीहरूको अभिव्यक्ति थियो। उनीहरूलाई विपिन अपहरण भएको दिउँसो ४ बजेसम्मको स्थिति मात्रै थाहा रहेछ। त्यसपछिको अवस्था जानकारी नभएको पायौँ।

इजरायलमा अहिले अवस्था सामान्य जस्तो देखिन्छ। राजधानीकै अवस्था पनि उस्तै छ। उतापट्टि गाजामा भने भोकमरीको पीडा छ। हामी इजरायलमै हुँदा गाजामा राहत सामग्री आपूर्ति गर्न अनुमति दिने निर्णय भएको थियो। त्यहाँ एकदमै अमानवीय अवस्था छ। इजरायलले कुनै पनि देश वा संस्थालाई गाजामा प्रवेश गर्न रोक लगाएको छ र आफूले पनि केही गरेको छैन।

विपिन जोशी अपहरणमा परेको इजरायलको किबुट्ज। तस्बिर : प्रदीप ज्ञवालीको फेसबुक

इजरायल र गाजाबीचको विवाद संसारकै सबैभन्दा पुरानो द्वन्द्वमध्ये एक हो। इजरायल स्थापना भएदेखि नै इजरायल र प्यालेस्टिनबीच द्वन्द्व हुँदै आएको छ। प्यालेस्टिनहरू लाखौँको संख्यामा विस्थापित छन् र उनीहरूको आफ्नो राज्य छैन। संयुक्त राष्ट्रसंघले दुई राज्यबीच विवाद समाधान गरेर स्पष्ट सीमांकन गरी मात्र समाधान खोज्न सकिने बताएको छ। यस प्रस्तावमा १५० भन्दा बढी देश छन्, तर इजरायलले स्वीकार गरेको छैन। किनभने इजरायलले प्यालेस्टिनको अस्तित्व नै स्वीकार्न चाहँदैन।

दुई पक्षबीच यस विषयमा पटक–पटक वार्ता भएका छन्। नरमपन्थी नेताहरू हुँदा पनि समाधान निकाल्न सकेन। अहिले प्यालेस्टिन नेतृत्व निकै कमजोर छ र त्यहाँ हमास मात्रै हाबी छ।

इजरायल हमासलाई देखाएर प्यालेस्टिनमाथि हाबी भइरहेको छ। अब अन्तर्राष्ट्रिय दबाब कति पर्छ भन्ने हो। इजरायललाई अमेरिकाको सहयोग छ। अन्तर्राष्ट्रिय दबाब कतिको पर्छ र अमेरिकालाई सिंगो संसारले कन्भेन्स गर्न सकेमा मात्र समाधान निस्कन सक्ने हो, नभए भन्न सकिन्न।

विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल कमजोर छ भन्ने मलाई लाग्दैन। प्रधानमन्त्रीज्यूले हमाससँग निकट मानिने इजिप्टका राष्ट्रपतिसँग संवाद गर्नुभएको छ। उहाँले वार्ताको मध्यस्थता गरिरहेका कतार र इरानसँग पनि सम्पर्क राख्नुभएको छ। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै तहबाट पहल भइरहेको छ। नेपालको त्यो द्वन्द्वसँग कुनै सम्बन्ध छैन र नेपालीहरूको पनि सम्बन्ध छैन भन्ने अवस्थामा छ। उनीहरू पढ्नका लागि त्यहाँ गएका हुन्। मुख्य कुरा हामीले पाएका छौं कि हमासले विपिन जोशीको बारेमा केही बताउन चाहेको छैन, जसले समस्या थप गम्भीर बनाएको छ।

त्यहाँ ‘गिभ एन्ड टेक’ को फर्मुलाजस्तो लागू हुन्छ। केही बन्धक हमासले रिहा गर्छ र त्यसबापत इजरायलले धेरै प्यालेस्टिनहरू मुक्त गरिदिन्छ। एक बन्धकको मूल्य बराबर लगभग ५० जनालाई मुक्त गर्ने चलन छ। पारिबाट बन्धक रिहाइ भएपछि इजरायलबाट पनि रिहाइ हुन्छ। त्यसमा विपिन जोशी नपरेको सबैलाई थाहा छ। पछिल्लो समय रिहाइ प्रक्रिया रोकिएको छ। मैले सोध्दा वार्ता भंग भएको हो कि स्थगित मात्र हो भनेर सोध्दा, अहिले स्थगित मात्र हो भनेका थिए। हामीले राखेका सर्त हमासले नमानेको कुरा पनि उल्लेख थियो।

युद्धको समयमा त्यहाँ नजान निर्देशन थियो, त्यसबेला जानु सम्भव थिएन। युद्धविराम भएपछि मात्र गएका हौं। इजरायल मरुभूमिजस्तै देश हो, तर त्यस्तो देशमा पनि उच्चतम प्रविधिको प्रयोग गरी कृषिमा गरिएका काम साँच्चिकै सिक्न लायक छन्। सीमापारिको गाजा भने भयावह छ। अहिले राजनीतिमा आतंकवाद प्रवेश गरेको छ। आतंकवाद समाप्त गर्ने नाममा इजरायल हाबी हुँदैछ। सीमापारिको मानवीय संकट अत्यन्त दर्दनाक छ।

अरू हिसाबमा इजरायल एकदमै सुन्दर छ। कार्यक्षेत्रमा सुरक्षा राम्रो छ। भित्र काम गर्न असहज छैन। युद्धमै रहेको देश भएकाले कहिले के हुन्छ भन्ने टुंगो छैन। अर्कोतर्फ इजरायलको सीमावर्ती कुनै देशसँग सुमधुर सम्बन्ध छैन। जोर्डन, लेबनान, यमन, सिरियासँग निरन्तर द्वन्द्वको अवस्था छ।

[पूर्वपरराष्ट्रमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव ज्ञवालीसँग किरण पौडेलले गरेको कुराकानीमा आधारित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast