प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

हिमाल प्रेस १३ साउन २०८२ १७:५० | Tuesday, July 29, 2025
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज (मंगलबार) उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ। राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो।

सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ।

प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए।

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना-सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए। रासस

प्रकाशित: १३ साउन २०८२ १७:५० | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast