पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

हिमाल प्रेस १३ साउन २०८२ १६:३६ | Tuesday, July 29, 2025
पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

संखुवासभा- नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुंगा, खोटाङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा लाखेनाच सुरु भएको छ।

संखुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ। नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ।

नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ।

नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारीलगायतका बजारहरूमा लाखेनाच सुरु गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए।

उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरू मुलुकका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन्। पूर्वमा हेर्दा धनकुटाबजार, भोजपुरको टक्सार बजार र संखुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरुमा नेवार समुदायको बसोबास छ।

लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ।

भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ। द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ।

प्रकाशित: १३ साउन २०८२ १६:३६ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast