टौदहमा कर्कोटक नागको पूजाआजा

हिमाल प्रेस १३ साउन २०८२ १३:२० | Tuesday, July 29, 2025
टौदहमा कर्कोटक नागको पूजाआजा

काठमाडौँ- कर्कोटक नागको बासस्थान मानिने टौदहमा नागको पूजा गर्न आज भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ मेला भर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ।

काठमाडौँदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त दहमा नागपञ्चमीका दिन पूजाआजा गरेमा मनोकाङ्छक्षा पूरा हुने मान्यता छ। मानव कल्याणका लागि क्रियाशील कर्कोटक नागलाई दियो, कलशसहित पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन, नैवैद्यसहित सामग्री राखेर पूजा गरिन्छ। यसो गर्दा नाग प्रसन्न भई सुखशान्ति तथा पारिवारिक कल्याण कायम हुने जनविश्वास छ।

नागको पूजा गर्न भक्तजनको घुइँचो लागेको छ। दह नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने चलन रहेको स्थानीय दीपक नेपालले जानकारी दिए।

भोटो जात्राका दिन जावलाखेलमा देखाइने भोटो कर्कोटक नागले प्रदान गरेको किंवदन्ती पाइन्छ। दैवी शक्तिका कारण देशभरका नाग आज दहमा आइपुग्ने विश्वास छ। प्राचीनकालमा निर्माण भएको दहमा जनैपूर्णिमाको दिनमा पनि स्नान तथा पूजा गर्न मेला लाग्छ। स्थानीयले दहमा विधिपूर्वक पूजा गरेपछि मात्र घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर पूजा गर्ने चलन छ।

प्रकाशित: १३ साउन २०८२ १३:२० | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast