पोखराको गगनगौँडामा भेटिए सिन्धुलीबाट बेपत्ता हायु परिवारका १६ जना

विजय नेपाल १२ साउन २०८२ २२:३१
184
SHARES
पोखराको गगनगौँडामा भेटिए सिन्धुलीबाट बेपत्ता हायु परिवारका १६ जना पोखराको गगनगौँडास्थित एक घरको कोठामा रहेका हायु परिवार।

पोखरा- सिन्धुलीबाट बेपत्ता भएका हायु परिवारका सदस्य पोखरामा भेटिएका छन्। उनीहरू सोमबार राति पोखराको गगनगौँडामा फेला परेका हुन्।

१६ जनामध्ये १२ जना गगनगौँडाका स्थानीय सोमनाथ पौडेलको घरमा र बाँकी चारजना चन्द्र भण्डारीको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले पुष्टि गरे।

डीएसपी बस्नेतले भने, ‘प्रारम्भिक सोधपुछका क्रममा उनीहरू मजदुरी गर्न भनी गगनगौँडा आएर बसेको खुलेको छ। बुझ्ने क्रम जारी छ, कसैको धाकधम्कीले पोखरासम्म आएका हुन् कि?’  हाल उनीहरू गगनगौँडा प्रहरी चौकीमा छन्। थप अनुसन्धानपछि छाडिने उनले बताए।

हायु परिवार शनिबार पोखराको लेकसाइडको एउटा होटलमा बसेको खुलेको छ। लेकसाइडस्थित होटल जननीका सञ्चालक सुदीप गिरीले भने, ‘उहाँहरू १६ जना शनिबार दिउँसो १ बजेतिर हाम्रो होटलमा आएर बसेकोमा आइतबार चेकआउट गर्नुभएको हो।’

सिन्धुली घर बताउने उनीहरू एकै घरपरिवारका भएकाले कोठा पनि ‘सेयर’ गरेर बास बसेका थिए। गिरीका अनुसार तीमध्ये एउटा हलमा आठजना बसेका थिए भने अरू दुई कोठामा चारचारजना बाँडिएर बसेका थिए। उनीहरूले आइतबार दिउँसो १२ बजे होटल छाडेका थिए।

सोमबार दिनभरि सिन्धुलीको खबर आएपछि आफूले शंका लागेर प्रहरीलाई यसबारे जानकारी दिएको गिरीले बताए।

कसरी पुगे पोखरा? कसरी भेटिए?

सोमबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी छेड्पा बस्ने उर्मिला हायुलगायत परिवारका १६ जना सम्पर्कविहीन भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट उनीहरूको खोजीका लागि टोली परिचालन भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा सिन्धुली तीनपाटन गाउँपालिका-३ बस्ने नवीन विकले हायु परिवारलाई गोलन्जोरस्थित बलेनी भन्ने ठाउँबाट शनिबार बिहान १ बजे मधेश प्रदेश ०४–००१ज. ००८१ नम्बरको ईभी भ्यानमा राखी खनियाँखर्क-सिन्धुली-हेटौँडा-मुग्लिन हुँदै पोखरास्थित लेकसाइडको होटल जननीमा पुर्‍याएको पत्ता लागेको थियो।

विकले हायु परिवारलाई आफूले सोही होटलमा छाडेको जानकारी दिएको जिल्ला प्रहरी कार्यायल सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विकले दिएको सूचनामा प्रहरीले होटल जननीमा सम्पर्क गरेको थियो।

होटल सञ्चालकले हायु परिवार १० गते राति होटल जननीमा बसेको र भोलिपल्ट होटल चेक आउट गरी हिँडेको भनी जानकारी प्रहरीलाई दिएका थिए। यस क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोजतलास गरिएको सुवेदीले बताएका छन्। सोमबार राति ९ः२० बजे पोखरा महानगरपालिका-३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा चारजना भेटिएको सुवेदीले बताए।

भेटिएका परिवारका सदस्यहरू

उर्मिला हायु
कमला हायु
कोमलमाया हायु
उषा हायु
अस्मिता हायु
शान्ता हायु
राजु हायु
हिमाल हायु
लालबहादुर हायु
बेगहादुर हायु
लक्की हायु
सुवर्ण हायु
ओमकुमारी हायु
अर्जुन हायु
रियासा हायु र पूर्ण हायु

प्रकाशित: १२ साउन २०८२ २२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast