
इटहरी- इटहरी-१४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले राजीनामा दिएका छन्। २०८२ असार ३२ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्बोधन गर्दै तिम्सिनाले प्रधानाध्यापक पदबाट राजीनामा दिएका हुन्।
स्वास्थ्यको कारण देखाउँदै उनले साउन १ गतेदेखि लागू हुने गरी प्रधानाध्यापक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले राजीनामा दिए पनि गुपचुप रहेको थियो। आइतबार (साउन ११) गते मात्रै पत्र सार्वजनिक भएको हो।
आर्थिक वर्ष २०७९।८० मा शिक्षकको तलब शीर्षकको बजेटमा इटहरी उपमहानगरले विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम भुक्तानी गर्नुपर्ने थियो। तर उपमहानगरबाट ७८ लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी भयो। ८,७३,६८३ रुपैयाँ निकासा हुनुपर्नेमा एउटा ६ बढी थिचिएका कारण सो रकम बढी गएको उपमहानगरले दाबी गर्दै आएको छ।
विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा संघीय सरकारको बजेटबाट उक्त रकम जम्मा भएको थियो। इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो।
जसमध्ये शान्ति विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो। उक्त रकम भुक्तानी भएको २२ महिनासम्म प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन्। न उपमहानगरले नै खोजी गर्यो।
आन्तरिक लेखा परीक्षणबाट उक्त रकम बढी गएको खुलेपछि घटना सामसुम बनाउने प्रयास गरिएको थियो। इटहरी उपमहानगरपालिकाका ‘कर्मचारीहरू मुछिने डर’ले प्रधानाध्यापक तिम्सिनालाई उन्मुक्ति दिइयो।
रकम घोटाला गरेको विषयमा उपमहानगरले कारबाही बिना नै तिम्सिनालाई उन्मुक्ति दिएको थियो। एक वर्षअघि समाचार प्रकाशन भएपछि प्रधानाध्यापक तिम्सिनाले राजीनामा दिनुपर्ने भन्दै कार्यपालिका बैठकमै कुरा उठेको थियो। खास गरी इटहरी उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले तिम्सिनाले राजीनामा नदिएसम्म बैठक नै नचल्नेसम्मको अडान लिएका थिए। तर शिक्षा समितिको बैठक बसेर निर्णय गर्ने भन्दै मेयर हेमकर्ण पौडेलले प्रधानाध्यापक तिम्सिनाको बचाउ गरे।
तिम्सिनाले तत्काल राजीनामा दिनुपर्ने आवाज उठे पनि मेयर पौडेल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले तिम्सिनालाई संरक्षण गरेका थिए। तिम्सिना एकीकृत समाजवादी निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठनमा आबद्ध छन्। सोही संगठनबाट प्रतिनिधित्व गर्दै उनी अघिल्लो वैशाख १०, ११ र १२ गते काठमाडौँमा भएको नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। शिक्षकको नेता भनेर चिनिने उनी पार्टीको आडमा शक्ति प्रदर्शन गर्ने तिम्सिनाले समाचार प्रकाशन भएको झण्डै एक वर्षपछि मात्रै राजीनामा दिएका हुन्।
‘मेरो स्वास्थ्यको कारणले गर्दा यही मिति २०८२।०४।०१ गतेदेखि लागू हुने गरी प्रधानाध्यापक पदबाट राजीनामा दिएको छु,’ उनले पत्रमा उल्लेख गरेका छन्। तिम्सिनाले आफूले राजीनामा दिए पनि आफ्ना मान्छे नै प्रअमा नियुक्त गर्न खोजेको चलखेल गरिरहेको स्रोतले जनाएको छ।
यसअघि घोटाला प्रकरण बाहिरिएपछि विद्यालय व्यवस्थापन समितिले पदबाट मुक्त गरेको थियो। तर आफूलाई अन्याय भएको भन्दै तिम्सिनाले उच्च अदालत विराटनगरबाट अन्तरिम आदेश ल्याएर प्रअकै जिम्मेवारीमा रहेका थिए। पछिल्लोपटक भने उच्च अदालत विराटनगरले तिम्सिनाको रिट खारेज गरेपछि स्वास्थ्यको कारण देखाउँदै राजीनमा दिएका हुन्।
तिम्सिनाले राजीनामा दिए पनि भित्रभित्रै आफ्नै मान्छेलाई प्रअमा नियुक्त गर्नसमेत उनले चलखेल गरिरहेको स्रोतको दाबी छ। रकम घोटाला गरेपछि उपमहानगरले यसअघि छानबिन समिति बनाए पनि उपमहानगरकै ‘कर्मचारी मुछिने डर’ले समितिले कारबाही बिना नै उन्मुक्ति दिएको थियो। सबै पैसा हर्जनासहित बुझाएको भन्दै उनलाई उन्मुक्ति दिइएको थियो।
तिम्सिनाले गत साउन ७ र साउन १४ को मितिमा सात-सात लाख र साउन ३० को मितिमा ६४ लाख ६५ हजार र साउन ३० कै मितिमा सात लाख ८६ हजार तीन सय रकम उपमहानगरलाई फिर्ता गरेको उपमहानगरको दाबी छ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले तिम्सिनाको राजीनामा स्वीकृत गरिएको बताए। विद्यालय व्यवस्थापन समितिको साउन ७ गते बसेको बैठकले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ।
‘बैठकबाट राजीनामा स्वीकृत गरी इटहरी उपमहानगरलाई पत्र पठाइसकिएको छ,’ मियाँले भने, ‘अहिले नयाँ प्रअ नियुक्त भइसक्नुभएको छैन, अब इटहरी उपमहानगरसँग समन्वय गरी प्रअ नियुक्त हुन्छ।’
प्रअ तिम्सिनाको राजीनामा स्वीकृत भएसँगै अहिले सुस्मिता नेपाललाई निमित्त तोकिएको उनले बताए। ‘तत्काल कामकाजका लागि निमित्त तोकिएको छ,’ उनले भने, ‘अब प्रअ नियुक्तिका लागि उपमहानगरको शिक्षा शाखासँग समन्वय गरेर तोक्छौँ।’
यो पनि
स्कुलको रकम हिनामिना प्रकरण : कारबाहीबिनै उम्किँदै प्रधानाध्यापक तिम्सिना