रञ्जिता पार्टी कामकाजबाट अलग, तोकिन् कार्यवाहक अध्यक्ष

हिमाल प्रेस ११ साउन २०८२ १५:५२ | Sunday, July 27, 2025
रञ्जिता पार्टी कामकाजबाट अलग, तोकिन् कार्यवाहक अध्यक्ष नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहकको जिम्मेवारी शिव बास्तोलले पाएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका वास्तोला पोखरा नगरपालिका–६ का बासिन्दा हुन्।

नाउपाका अधिकांश केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिएसँगै अध्यक्ष श्रेष्ठ पार्टीको कामकाजबाट अलग हुँदै कार्यवाहक तोकेकी छन्।

शुक्रबार मध्यबानेश्वरमा बसेको बहुमत केन्द्रीय सदस्यहरूको भेलाले केन्द्रीय समिति बैठक बोलाउन श्रेष्ठलाई २४ घन्टे अल्टिमेटम दिएको थियो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते (आज) केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने भेलाले चेतावनी दिएको थियो।

केन्द्रीय सदस्यहरूले दिएको अल्टिमेटमअनुसार २४ घन्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन्।

उनले स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र हालको अवस्वस्थ्यताका कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको बताएकी छन्।

स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा आफ्नो भौतिक उपस्थिति सम्भव नरहेकाले पार्टीको कार्यप्रवाहमा अवरोध आउन नदिने उद्देश्यले कार्यवाहक अध्यक्ष तोकिएको श्रेष्ठले जिकिर गरेकी छन्।

अध्यक्ष श्रेष्ठले आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म वास्तोलाले कार्यवाहक अध्यक्षको जिम्मेवार वहन गर्ने उल्लेख गरेकी छन्।

‘नाउपाको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाईँ यस पार्टीको वरिष्ठ नेता शिव वास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्न यो पत्र मार्फत तोकिएको छ,’ श्रेष्ठ हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘तपाईँले पार्टीको अधिनमा रही अध्यक्षको रुपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्नु हुनेछ र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु। मेरो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहनेछ।’

प्रकाशित: ११ साउन २०८२ १५:५२ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast