कांग्रेस एमालेका प्रमुख सचेतकहरूलाई शिक्षक महासंघले के भन्यो?

हिमाल प्रेस ११ साउन २०८२ १६:१२
2.5k
SHARES
कांग्रेस एमालेका प्रमुख सचेतकहरूलाई शिक्षक महासंघले के भन्यो?

काठमाडौँ- शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गराउन माग गर्दै नेपाल शिक्षक महासंघले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय सचेतकहरूसँग भेट गरेको छ। महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका सचेतक महेश बर्तौलासँग भेटवार्ता गर्दै यसअघि महासंघसँगका सहमतिअनुसार शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्न आग्रह गरेको हो।

हिमालप्रेससँगको कुराकानीमा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अझैसम्म विधेयकमा समेटिन बाँकी रहेका महत्वपूर्ण विषयहरूबारे जानकारी दिँदै दलहरू सकारात्मक भए पनि व्यवहारमा भने उनीहरू गम्भीर नभएको बताइन्।

उनले भनिन्,‘उहाँहरूसँग नमिलेका विषयहरूमा आज छलफल भयो। केही गम्भीर र मसिना मुद्दाहरू अझै टुंगो लागेका छैनन्। अस्थायी शिक्षकहरूको समायोजन, शिक्षक बढुवा प्रक्रिया, ट्रेड युनियन अधिकार, विभागीय कारबाही लगायतका विषयहरूमा हामीले भनेअनुसार काम भएको छैन।’

महासंघले यसअघि नै शिक्षा विधेयक साउन २१ गतेसम्म संसद्मा पेस गर्न अल्टिमेटम दिइसकेको छ। सो भेटमा पनि उक्त विषयलाई स्पष्ट रूपमा दलका प्रतिनिधिहरूलाई सम्झाइएको सहअध्यक्ष पराजुलीले बताइन्। उनले भनिन्, ‘हामीले उहाँहरूलाई भनेका छौं— २१ गतेसम्म विधेयक संसद्मा ल्याउनुहोस्। उहाँहरूले पनि विधेयक ल्याउन लागिपरेका छौं भन्नुभयो। जिम्मेवारी उहाँहरूकै हो। महासंघले त समर्थन र दबाबको भूमिकामा मात्रै हो।’

पराजुलीका अनुसार साउन १९ गते बस्ने प्रतिनिधिसभा बैठकअघि नै विषयगत समितिले बाँकी विवादित विषयहरू टुंग्याएर विधेयक संसद् सचिवालयमा दर्ता गराउन जरुरी छ। ‘अब समय धेरै छैन। हामीले मागहरू पूरा भए आन्दोलनको आवश्यकता पर्दैन भनेका हौं। तर यदि २१ गतेसम्म विधेयक ल्याइएन भने आन्दोलनको विकल्प रहँदैन,’ उनले भनिन्। महासंघले यसअघि वैशाख १७ गते आन्दोलनलाई अस्थायी रूपमा स्थगन गरेको थियो। तर अब त्यसभन्दा कडा संघर्षको तयारी भइरहेको उनको भनाइ छ।

‘हामीले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेका छौं। काठमाडौँ केन्द्रित मात्रै होइन, अझ कडा र गहिरो किसिमको आन्दोलन हुने सम्भावना छ। अहिले बर्खा भएकोले केही समय सावधानी र खबरदारी गरौं भनेर रोकिएका हौं। तर २१ गतेपछि महासंघको बैठक बसेर आन्दोलनको नयाँ ढाँचा घोषणा हुनेछ,’ पराजुलीले भनिन्।

महासंघकी सहअध्यक्ष पराजुलीका अनुसार शिक्षा विधेयकमा अझैसम्म पुराना र दीर्घकालदेखि उठाइएका मुद्दाहरूको समुचित सम्बोधन भएको छैन। ‘बालविकास शिक्षकमाथि अहिले पनि शिक्षकको हैसियत दिइएको छैन। उहाँहरूलाई अझै ‘बालविकास सहजकर्ता’ भनेर सम्बोधन गरिँदैछ। यस्तो अवस्थामा हामीले नयाँ मुद्दा ल्याएको भनेको झूट मात्र हो,’ उनले भनिन्, ‘हाम्रा सबै मागहरू पहिलेका नै हुन्। एकपटक पनि सरकारले स्पष्ट सहमति दिएको छैन। एउटा मुद्दा मिलाएर अर्को सुल्झाउने भन्ने प्रक्रियामा समेत पुगेका छैनौं।’

‘महासंघले मुद्दा छोड्यो’ भन्ने प्रचार झुट हो

हालै केही दलका नेता तथा शिक्षकहरूले मिडियामार्फत ‘महासंघले आफ्ना मुद्दाहरू छोडेको’ भन्ने प्रचार गरिरहेका बेला पराजुलीले त्यसलाई ‘पूर्णरूपमा झुटो र भ्रामक’ भनेकी छन्। ‘एउटा पनि मुद्दा औपचारिक रूपमा टुंग्याइएको छैन। तर मिडियामा महासंघले मुद्दा छोडिसक्यो भनेर प्रचारबाजी भइरहेको छ। यो सत्य होइन। उल्टै उहाँहरू आफैँले आफ्नो जिम्मेवारीबाट पन्छिनका लागि दोष हामीमाथि थोप्रिने प्रयास भइरहेको छ। महासंघमाथि झुटो लाञ्छना लगाएर मुद्दा समाप्त भएको भन्दै भ्रम फैलाउने काम भइरहेको छ। तर सत्य के हो भन्ने जनताले बुझ्नेछन्। झुट धेरै समय टिक्दैन।’

प्रकाशित: ११ साउन २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast