रेशमले रञ्जितालाई भने- ‘घुस’ आरोपमा खुलस्त जवाफ दिनुपर्छ

हिमाल प्रेस ९ साउन २०८२ १२:०८ | Friday, July 25, 2025
रेशमले रञ्जितालाई भने- ‘घुस’ आरोपमा खुलस्त जवाफ दिनुपर्छ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि लागेको मुद्दा वा आरोपका विषयमा खुलस्त जवाफ दिनुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकबारे आफूले नबोलाएको भनेर पन्छिन नमिल्ने बताएका छन्।

पार्टीका महासचिव तथा संसदीय दलका नेता गंगाराम चौधरीले साउन ९ र १० गते पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका थिए। तर अध्यक्ष श्रेष्ठले उक्त बैठक अधिकारिक नभएको प्रतिक्रिया दिएकी थिइन्।

बिहीबार साँझ भिडियो सन्देशमार्फत रेशम चौधरीले आफूले गठन गरेको पार्टीलाई पटकपटक काटेर कमजोर बनाउने प्रयास भइरहेको गुनासो गरेका छन्। ‘आज बिरुवा रोप्छु, केही दिनमै काटेर ठुटो बनाइन्छ। रोप्दैछु, रोप्दै जानेछु,’ उनले भने, ‘अहिलेको केन्द्रीय समिति बैठक मैले प्रत्यक्षरूपमा बोलाएको नभए पनि मेरो सुझावमा बोलाइएको हो।’

चौधरीले आफूलाई संरक्षक बनाएर भूमिकाविहीन बनाइएको गुनासो गर्दै पार्टीभित्रका आन्तरिक समस्या हल गर्न औपचारिक बैठक र छलफलमै सहभागी हुन नेताहरूलाई आग्रह गरे।

‘यदि पार्टीभित्र समस्या छ भने बैठकमा आउनुस्, बुँदागत छलफल गरौँ। सामाजिक सञ्जालमा कुरा छरपस्ट नगरौं, यसले तपाईँकै गरिमा घटाउँछ,’ उनले भने।

चौधरीले पार्टीलाई ‘जोइपोइ’ मा भाँजो हाल्ने प्रवृत्ति देखिएको भन्दै पार्टीको वैधता र नेतृत्व माथि प्रश्न उठाएका छन्। ‘मुद्दा लागेको छ भने जवाफ दिनुपर्छ। प्रतिशोधको राजनीति ठिक होइन,’ चौधरीले भने, ‘पार्टीलाई निरङ्कुश बनाउने अधिकार कसैलाई छैन। अध्यक्ष आफैले निकास दिनुपर्छ।’

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख ‘घुसडिल’ प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी रञ्जिता मुछिएकी छन्।

प्रकाशित: ९ साउन २०८२ १२:०८ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast