
वीरगन्ज- खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगन्ज महानगरपालिकाबीच वीरगन्जमा खानेपानी सेवा विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रबन्धक अर्जुनबाबु ढकाल तथा वीरगन्ज महानगरपालिकाका तर्फबाट वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त समझदारीअनुरूप अबदेखि नयाँ उपभोक्तालाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकलाई निःशुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए।
उनले भने, ‘संस्थानको वीरगन्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिनेछ, जसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्नेछ।’ यस समझदारीपत्र हस्ताक्षरले वीरगन्जवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिइएको मन्त्री यादवले बताए।
वीरगन्ज महानगरपालिकासहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि मन्त्रालय, विभाग तथा खानेपानी संस्थान खटिएको छ।