इटहरीको बजेट पारित भएन, नगरसभा अनिश्चितकालका लागि स्थगित

हिमाल प्रेस ३२ असार २०८२ २१:२४ | Wednesday, July 16, 2025
इटहरीको बजेट पारित भएन, नगरसभा अनिश्चितकालका लागि स्थगित

इटहरी- इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट राजनीतिक खिचातानीका कारण पारित हुन सकेन। बुधबार बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। जसका कारण इटहरी नगर आगामी आर्थिक वर्षको बजेटबाट बिमुख बनेको छ।

नगरप्रमुख हेमकर्ण पौडेलले नगरसभा स्थगित हुनुको दोष नेकपा एमाले इटहरीका नेताहरूलाई लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित, इटहरीबासी बजेटबाट बिमुख।’

पौडेलका अनुसार बजेट नगरको आवश्यकतालाई हेरेर सन्तुलनसहित बनाइएको थियो। तर एमाले निकटका वडाध्यक्षहरूले आफ्नो वडामा बढी रकम माग गरेपछि सहमति जुट्न सकेन।

उपप्रमुख संगीताकुमारी चौधरीले असार १० गते नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार इटहरीले आगामी वर्षका लागि कुल २ अर्ब ५५ करोड २१ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको थियो।

जसमा चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गर्दा वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख छुट्याइएको थियो।

पछिल्लो वर्षको तुलनामा यो बजेट १ अर्बभन्दा कम हो। चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरको बजेट ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार थियो। त्यति ठूलो बजेट ल्याएको भन्दै आलोचना खेपेको इटहरीले यसपटक भने अपेक्षाकृत संकुचित बजेट ल्याए पनि बजेट पास नहुँदा इटहरी नगर बजेटबाट बिमुख बनेको हो।

प्रकाशित: ३२ असार २०८२ २१:२४ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast