शैक्षिक हडतालमा ऐक्यबद्धता जनाउन महासंघलाई क्रान्तिक्रारीको आग्रह

हिमाल प्रेस ३१ असार २०८२ १३:५५ | Tuesday, July 15, 2025
शैक्षिक हडतालमा ऐक्यबद्धता जनाउन महासंघलाई क्रान्तिक्रारीको आग्रह

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नेपाल शिक्षक महासंघलाई एकदिने देशव्यापी शैक्षिक हडतालको कार्यक्रममा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। क्रान्तिकारी विद्यार्थी युनियनले मंगलबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई ऐक्यबद्धताका लागि आग्रह गरेको हो।

युनियनले जनपक्षीय, निःशुल्क र वैज्ञानिक शिक्षाको सुनिश्चितताका लागि जारी संघर्षमा ऐक्यबद्धता जनाउन महासंघसहित सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी, बुद्धिजीवी तथा सरोकारवाला सबै पक्षलाई आग्रह गरेको हो।

अपिलमा क्रान्तिक्रारीले देशमा अझै पनि ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐन लागु रहेको भन्दै यसले शिक्षा क्षेत्रमा व्यापारीकरणलाई बढावा दिएको उल्लेख गरेको छ। ‘संविधानले मौलिक हकका रूपमा निःशुल्क र समान शिक्षा पाउने अधिकार सुनिश्चित गरे पनि व्यवहारमा चरम असमानता छ,’ अपिलमा भनिएको छ।

क्रान्तिक्रारीले नेपाल शिक्षक महासंघद्वारा अगाडि सारिएको आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सम्भव नभएको स्पष्ट पारेको छ।

‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने मूल नारासहित क्रान्तिक्रारीले साउन २ गते देशभरका सम्पूर्ण शिक्षण संस्थामा एकदिने शैक्षिक हडताल आह्वान गरेको छ।

यस हडताल र अभियानलाई सफल बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट समर्थन गर्न, आवाज उठाउन र ऐक्यबद्धता प्रकट गर्न क्रान्तिक्रारीले अपिल गरेको छ। ‘यो केवल विद्यार्थीको मात्र होइन, सम्पूर्ण नेपाली समाजको भविष्य सुनिश्चित गर्ने संघर्ष हो,’ क्रान्तिक्रारीले भनेको छ।

क्रान्तिक्रारीले शिक्षामा व्यापारीकरण अन्त्य गर्दै संविधानले परिकल्पना गरेको वैज्ञानिक, समावेशी र जनमुखी शिक्षा प्रणाली कार्यान्वयन गराउन सबैलाई साझा अभियानमा उभिन आह्वान गरेको छ।

प्रकाशित: ३१ असार २०८२ १३:५५ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast