
काठमाडौँ– रसुवामा मंगलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ। सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। एक जनाको भने सनाखत भएसँगै बुधबार अन्त्येष्टि गरिएको पनि उनले बताए।
बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। उनको परिवारले शव बुझेर अत्येष्टि गरिएको हो।
रसुवा बाढीमा अझै १९ जना बेपत्ता रहेका छन्। अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो की होइन भनेर पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
भेटिएका शवमध्ये पाँच शव मात्रै सनाखत गर्न सकिने खालका रहेको छ। चार वटा मानव अंगहरूमात्रै फेला परेको हो। ती शवको डीएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ।
उक्त बाढीमा अझै दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन्। बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ।
धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ। अहिले बेपत्ताहरूको विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए।
यस्तै रसुवाका विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूको उद्धार कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।