
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट संसद्मा पेस गर्ने तयारी भइरहेका बेला सराेकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षा उपसमितिको प्रतिवेदन जस्ताकोतस्तै समितिबाट स्वीकृत भएमा शिक्षा क्षेत्रकै लागि ‘कालो दिन’ हुने टिप्पणी गरेका छन्।
४५ दिनमा उपसमितिले तयार पारेको प्रतिवेदनलाई गम्भीर छलफल नै नगरी यथास्थितिमा पारित गर्ने तयारीमा शिक्षा समिति रहेको भन्दै भट्टराईले आपत्ति जनाए।
‘यदि प्रतिवेदन जस्ताकोतस्तै स्वीकृत गरियो भने शिक्षा क्षेत्रले आजैको दिनलाई कालो दिन घोषणा गर्न सक्नेछ,’ भट्टराईले भने।
विधेयकलाई लिएर शिक्षकमाझ असन्तोष चुलिँदै गएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकपछि विधेयक प्रतिनिधिसभामा पेस गर्ने तयारी छ।