
काठमाडौँ- डोल्पाको एक काल्पनिक विद्यालयका नाममा निर्माण योजनाका लागि बजेट विनियोजन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन दुनै गाविस वडा नं. २ र ३ मा दुर्गा प्राथमिक विद्यालय नामक शैक्षिक संस्था नहुँदै त्यही विद्यालयका नाममा विद्यालय भवन निर्माण गर्न आर्थिक वर्ष २०६७/०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रकम आएको देखाई रु. ७ लाख ६० हजार विनियोजन गरिएको थियो। विद्यालय अस्तित्वमै नरहेको पुष्टि भएपछि उक्त कार्यमा संलग्नहरूलाई कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारको अनुसन्धानमा जिल्ला शिक्षा कार्यालय, डोल्पाबाट प्राप्त जानकारीअनुसार दुर्गा प्रावि तिप्ला भन्ने नामको कुनै पनि विद्यालय हालसम्म सञ्चालनमा नरहेको पाइएको छ। सोही स्थानमा लालिगुराँस आधारभूत विद्यालय मात्रै रहेको पुष्टि भएको हो। स्थलगत निरीक्षणमार्फत पनि विद्यालय नभएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, काल्पनिक उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढामाथि आपसी मिलेमतोमा फर्जी समिति गठन गरी झूट्टा कागजात बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।
चारै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ३ (१) (ङ), ३ (१) (घ) तथा दफा २२ बमोजिम कैद, जरिवाना र बिगो असुल गर्न मागदाबी गरिएको छ। मुख्य अभियुक्तसँग सरहको सजाय हुनुपर्ने माग गर्दै मतियारको हैसियतमा रहेका संगीता बुढाविरुद्ध पनि समान सजायको माग गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सो कार्यलाई नियोजित ढंगले काल्पनिक विद्यालय खडा गरी सरकारी स्रोत दोहन गरिएको गम्भीर अपराधको रूपमा चित्रण गरेका छन्।