एसईईमा वेदविद्या आश्रमका ८५ प्रतिशतभन्दा बढी विद्यार्थीको ‘ए प्लस’, मन्त्री पाण्डेद्वारा सम्मान

हिमाल प्रेस १९ असार २०८२ १४:२९ | Thursday, July 3, 2025
एसईईमा वेदविद्या आश्रमका ८५ प्रतिशतभन्दा बढी विद्यार्थीको ‘ए प्लस’, मन्त्री पाण्डेद्वारा सम्मान

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने नेपाल विदेविद्या आश्रम संस्कृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सम्मानित गरेका छन्।
पशुपति विकास कोषद्वारा सञ्चालित यो विद्यालयका १४ परीक्षार्थीमध्ये ११ जनाले ‘ए प्लस’ र तीन जनाले ‘ए’ ग्रेड हासिल गरेका हुन्।

संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेदविद्या आश्रमले यसपटकट ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ‘ए प्लस’ मा पुर्‍याउनुका साथै सम्पूर्ण विद्यार्थीहरूलाई उतीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्री पाण्डेले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा विद्यालय व्यवस्थापन, शिक्षक र विद्यार्थीहरूलाई शुभकामना दिए।

विद्यार्थीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैँमा चुनौतीपूर्ण रहेको बताए। उनले भने,‘संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ जीपीए ल्याउनु गौरवको विषय हो।’

नेपाल वेदविद्या आश्रमले एसईईमा देखाएको नतिजा संस्कृत शिक्षाको उज्याले सम्भावनाको संकेत रहेको उनको भनाइ छ। संस्कृत र अंग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै ठाउँमा काम लाग्ने पाण्डेले बताए।

मन्त्री पाण्डेले मन्त्रालयअन्तर्गतका अन्य निकायहरूको प्रगतिको चर्चा गर्दै सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको जानकारी दिए।

विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीले विगत १० वर्षदेखि एसईईमा विद्यालयले शत प्रतिशत उतीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराए।

उनका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा १५ जना शिक्षकमध्ये ७ जना आंशिक शिक्षक छन् भने उनी स्वयंमात्र स्थायी शिक्षक हुन्।

प्रकाशित: १९ असार २०८२ १४:२९ | Thursday, July 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast