डोलप्रसादको व्यंग्य- मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बिग्रिएको छ भने म के गरौं

हिमाल प्रेस १५ असार २०८२ १४:५० | Sunday, June 29, 2025
डोलप्रसादको व्यंग्य- मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बिग्रिएको छ भने म के गरौं

काठमाडौँ- प्रतिनिधिसभामा भिजिट भिसाका नाममा हुने मानव तस्करीका विषयमा उठेका आरोपहरूबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले आफ्नो स्वामित्वको कम्पनीलाई लक्षित गरी गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘सुमिरे टुर एन्ड ट्राभल्स’ नामक कम्पनीले विगत १० वर्षदेखि भिजिट भिसाको नाममा नेपालीहरूलाई जापान पठाएर अर्बौं रुपैयाँ उठाएको आरोप लगाएका थिए। उनले संसद्भित्रै बस्ने केही व्यक्तिहरूको संलग्नता रहेको आशंका व्यक्त गर्दै सो कम्पनीको स्वामित्वबारे प्रश्न उठाएका थिए।

‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो?’ खतिवडाले भनेका थिए,‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा उठाएर संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गर्दै आएका छन्। यस्ता क्रियाकलापले भिजिट भिसामार्फत हुने बदमासीलाई प्रोत्साहन दिएको छ।’

सांसद अर्यालले कम्पनी आफ्नै भएको पुष्टि गरे। ‘हो, म गर्वका साथ भन्छु, सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो,’ उनले भने। उनले आफू नेपालमै पसिना बगाएर कमाउने मानिस भएको र कसैको पनि ठगी नगरेको बताए। अर्यालले भने, ‘मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बिग्रिएको छ भने म के गरौं?’

अर्यालले आफ्नो कम्पनीमार्फत विदेश गएकाहरू कोही पनि फर्किनु नपरेको बताए। ‘मेरो कम्पनीबाट एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु,’ उनले भने। साथै उनले निराधार आरोपलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दै सभामुखसँग रुलिङ माग गरे।

भिजिट भिसाको नाममा भइरहेका मानव तस्करीविरुद्ध आफ्ना पार्टीका सांसदहरूले संसद्मा ३२ दिनदेखि प्रश्न उठाइरहेको स्मरण गराउँदै अर्यालले ध्यान अन्यत्र मोड्नकै लागि यस्तो आरोप लगाइएको बताए। ‘हामीले कस्तो समाज बनायौं जहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्छ?’ उनले भने।

प्रकाशित: १५ असार २०८२ १४:५० | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast