काठमाडौँ- प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा प्रस्ताव राख्दै उनले विपद्बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। उनले घाइते नागरिकको श्रीघ स्वास्थ्य लाभको कामना गरे।
सभामुख अर्यालले विपद्मा प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशिल हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै यसले नेपालका हिमनदी र हिमतालमा परिवर्तन भइरहेको बताए। सभामुख अर्यालले जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तरराष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक रहेकामा जोड दिए।
जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तरराष्ट्रिय बहसमा नेपालले अझ स्पष्ट र बलियो रूपमा उठाउन उनले सरकारको ध्यानाकर्षणसमेत गराए। ‘रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। विपद्पछिको व्यवस्थापनमात्र हैन पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ’,उनले भने।
सभामुुख अर्यालले तीनै तहका सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सरकारका सम्पूर्ण संयन्त्र एवं स्रोत परिचालन गरी उद्धारलाई तीव्रता दिन र विस्थापित नागरिकलाई पुनःस्थापना गर्न आग्रह गरे।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते दिउँसो १:०० बजे बस्नेछ।


