मुस्ताङका चार पालिकामा घुम्ती गोठ

हिमाल प्रेस १३ असार २०८२ २०:३९
82
SHARES
मुस्ताङका चार पालिकामा घुम्ती गोठ

मुस्ताङ- थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा च्याङ्ग्रापालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको छ। उच्च लेकमा याकचौँरी तथा च्याङ्ग्रा रेखदेख गरी बस्ने गोठालाहरूको सुविधाका लागि मुस्ताङका चारवटा पालिकामा दुई दर्जन बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको हो।

हिउँदयामका जाडो हुने भएकाले बेँसीमा झारिने यहाँका याकचौँरी तथा च्याङ्ग्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ। गाउँपालिकाले याकनाक तथा चौँरीपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा ‘याकचौँरीपालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा आठ लाख बजेट विनियोजन गरेको थियो।

थासाङ गाउँपालिकाका लागि ‘याक प्रवर्द्धन कार्यक्रम’अन्तर्गत संघीय सरकारको सशर्त अनुदान १० लाख विनियोजन भएको थियो। संघीय र पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदान सहुलियत दिने गरी घुम्ती गोठ निर्माण गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत राजन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पालिकाअन्तर्गतका हिमालयन चौँरीपालक तथा संरक्षण समितिमा आवद्ध २० परिवारका याकचौँरीपालक किसानका लागि २० वटा अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण गरिएको हो। पालिका र संघीय सरकारको अनुदान १८ लाख र सम्बन्धित किसान समितिको लागत साझेदारी १८ लाख बजेट खर्चिएर थासाङको मार्चे लेक, मुलीखर्क र बतासे लेकमा अस्थायी गोठ निर्माण गरिएको उनले बताए।

ढुंगाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी किसान बस्ने गोठ सम्पन्न गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत श्रेष्ठले उल्लेख गरे।  थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले संघीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेकमा १०, मुलीखर्कमा छ र बतासे लेकमा चारवटा घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए।

गोठ निर्माणले उच्च लेकमा याकचौँरी रेखदेख गर्ने गोठालालाई बस्न सहज भएको उनले उल्लेख गरे। ‘गोठाला बस्ने संरचना निर्माण भएसँगै बस्ने र खाने सुविधा सहज भएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘गोठभित्रै बसेर दूध, दही, घ्यू र छुर्पीलगायत परिकार बनाउन सजिलो भएको छ।’ उनका अनुसार थासाङमा २३ परिवारले याकचौँरीपालन गरे पनि २० घर हिमायन याकचौँरी तथा संरक्षण समितिमा दर्ता भएका छन्।

यहाँस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका चारवटा पालिकामा दुईवटा शीर्षकमा घुम्ती गोठ निर्माण गरिएको जनाएको छ। केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणि अर्यालले ‘घुम्ती गोठ संरक्षण कार्यक्रम’ र ‘स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम’अन्तर्गत रहेर थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा याकचौँरी तथा च्याङ्ग्रा पालकका लागि घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए।

भेटेरिनरी कार्यालयले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार थासाङमा १० लाख, लोघेकर दामोदरकुण्डमा १० लाख, वारागुङ र लोमान्थाङमा पाँच/पाँच लाख बजेट विनियोजन गरी किसानलाई ९० प्रतिशत अनुदान सहुलियत दिएर गोठ निर्माण गरेको हो।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोजसम्म उच्च लेकमा याकचौँरी तथा भेडाच्याङ्ग्रापालन गरिन्छ भने हिउँदयाम लागेपछि मङ्सिरदेखि वैशाखसम्म उच्च लेकका याकचौँरी तथा भेँडाच्याङ्ग्रा बस्ती नजिकै स्थान्तरण गरिन्छ। रासस

प्रकाशित: १३ असार २०८२ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast