तनहुँका सबै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

हिमाल प्रेस १३ असार २०८२ १३:५३
16
SHARES
तनहुँका सबै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा पहिराे। प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- १० वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिले तयार पारेको विपद् प्रतिकार्य योजना-२०८२ अनुसार चार नगरपालिका र ६ गाउँपालिकाका दर्जनौं बस्ती बाढीपहिरोबाट प्रभावित हुन सक्ने भन्दै जोखिम सूचीकृत गरिएका हुन्।

जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारीका अनुसार मनसुनको समयमा बाढीपहिरो, आगलागी, महामारी, सुक्खा, चट्याङलगायतका जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ। उक्त योजनामा विपद् हुनुअघि नै जोखिम मूल्यांकन, प्रभावित क्षेत्रको पहिचान, उद्धार र राहत वितरणका लागि जिम्मेवारी तोकिएको छ।

व्यास नगरपालिकाका सबै वडाहरू, भानु नगरपालिकाका वडा नं ४, ५, ६ र ७, भिमादका वडा नं ३, ५, ७, ८ र ९, शुक्लागण्डकीका वडा नं ९ र १०, देवघाटका वडा नं १ देखि ४, बन्दीपुरका वडा नं १, २, ४ र ५, घिरिङका वडा नं २ देखि ५, ऋषिङका वडा नं १, २, ३, ६, ७ र ८, आँबुखैरेनीका वडा नं ४, ५, ६ र म्याग्दे गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका बस्ती पहिरोको उच्च जोखिममा छन्।

व्यास, भानु, भिमाद, शुक्लागण्डकी, देवघाट, बन्दीपुर, घिरिङ, ऋषिङ, आँबुखैरेनी र म्याग्देका नदी किनारका बस्तीहरू बाढीको जोखिममा परेका छन्। जिल्ला प्रशासनका अनुसार मनसुनका कारण उत्पन्न हुने विपद्‌को पूर्वानुमान गरी समयमै उद्धार र राहतका लागि सरकारी तथा गैरसरकारी निकायहरूको तयारी थालिएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार विपद्‌को अवस्था आएमा तत्काल खोज, उद्धार, राहत वितरण, आवास व्यवस्थापन, सूचना संकलन र सम्प्रेषण लगायतका कार्य प्रभावकारी बनाउने गरी सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस तथा समुदायलाई जिम्मेवारी दिइएको छ।

मनसुनजन्य प्रकोपको प्रभाव न्यून बनाउन सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय समिति र स्वयंसेवकलाई परिचालन गरिने र सबै तहका निकायलाई तयारी अवस्थामा राखिएको अधिकारीको भनाइ छ।

प्रकाशित: १३ असार २०८२ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast