
काठमाडौँ- ‘जात्रा’ शृङ्खलाले स्थापित ब्यानर षट्कोण आर्टसले ‘लालीबजार’ नामक फिल्म बनाउने भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको अभिनय रहने जानकारी दिएको छ। पोस्टरमा उनी गर्भवतीको चरित्रमा देखिएकी छन्।
अभिनेत्री खड्काले आफू देखिरहने पात्रभन्दा भिन्न रहेकाले फिल्ममा अभिनय गर्न लागेको बताइन्। ‘अघिल्ला फिल्मको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नुहुनेछ। अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ। यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ।’ उनले भनिन्।
कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले फिल्ममा मनोरञ्जनसँगै सामाजिक विषयलाई देखाइने जानकारी दिए। उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसकेका छन्।
‘लालीबजार’ का निर्देशक यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताए। ‘यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ। तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर कथा तयार गरिएको छ। यसअघिका भन्दा यो फिल्म केही भिन्न बनाउन सक्दो प्रयास हुनेछ’, निर्देशक थापाले भने।
निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण रहने फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्मातामा छन्। फिल्म आगामी फागुन १ मा प्रदर्शन गर्ने टिमको तयारी छ।