द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

हिमाल प्रेस ९ असार २०८२ १६:०६
12
SHARES
द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री आरजु राणा देउवा/तस्बिर : रासस
काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहनुभएका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ।’

उनले सम्बन्धमा समृद्ध मुलुकमा रहेका नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन्। यही जुन १७ तारिखमा ‘अनलाइन पोर्टल’ खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको उल्लेख गर्दै उनले उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरेको र विवरण दर्ता गर्ने क्रम बढ्दै गएको जानकारी दिइन्।

मन्त्री राणाले भनिन्, ‘यही जुन १८ तारिखमा ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ।’

यस सन्दर्भमा जोर्डन सरकारले १९ जुन २०२५ मा एक नोट लेखी इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकहरूलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको उनले बताइन्। साथै आएएलओ र आएओएमसँग पनि यस विषयमा सहजीकरणका लागि नेपाली राजदूतावासद्वारा पत्राचार भएको उनले बताइन्।

राणाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकामा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरू भएको जानकारी गराइन्।

बाँकी पाँचजना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहामार्फत पहल गरिरहेको उनले बताइन्। साथै उनले सरोकारवाला निकायहरूसँग समन्वय एवं द्रूत सुनुवाइ समूहको गठनमार्फत इजरायल र इरानबाट शीघ्र उद्धार तथा स्वदेश फिर्तीको पहल भइरहेको जानकारी दिइन्।

मन्त्री राणाले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिइआएको बताइन्।

उनले सीमासम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको र सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको बताइन्। उनले भनिन्, ‘भारतमा बन्दी अवस्थामा रहेका नेपालीको उद्धार सम्बन्धमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ सामाजिक संस्थाको सहयोगमा हालसम्म ३६ जना नेपालीको उद्धार गरिएको छ। उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको र सम्भावित थप नेपालीहरूको खोजी कार्य जारी रहेको छ।’

क्रोयसियामा ३१ मे महिनामा सवारी दुर्घटनामा मृत्यु भएका रवि महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले यथाशीघ्र शव नेपाल ल्याउन दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराइन्।

मन्त्री राणाले राजदूतहरूको नियुक्ति निर्देशिका र प्रचलित नियमन कानुनअुसार नै भइरहेको उल्लेख गरिन्।

‘राजदूतहरूको नियुक्ति ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ र प्रचलित नियम कानुनअनुसार भइआएको छ। साथै, श्रम सहचारीका सम्बन्धमा प्रचलित कानुनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै छनोट भई आएकालाई पठाउने गरिएको छ,’ उनले भनिन्, ‘मन्त्रालय वा अन्तर्गतका कतिपय कामहरूको नतिजा तत्काल नभई दीर्घकालमा मात्र देखिन्छ। न्यूनतम जनशक्ति र स्रोतसाधनमा पनि हाम्रा मन्त्रालय र अन्तर्गतका निकायहरूले अत्यन्त महत्वपूर्ण सेवा प्रदान गर्दै आइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast