
काठमाडौँ- सांसद अमरेश कुमार सिंहको अभिव्यक्तिलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भर्त्सना गरेको छ ।
आइतबारको संसद् बैठकमा सांसद सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिनुपर्ने अभिव्यक्ति दिएका थिए। सोको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्तो किसिमको गैरजिम्मेवार र राष्ट्रको अस्तित्वमाथि प्रहार गर्ने अभिव्यक्तिलाई अनेरास्ववियु कडा शब्दमा भर्त्सना गर्दछ। अनेरास्ववियु सांसद सिंहसँग तत्काल उक्त अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासामु सार्वजनिक माफी माग्न माग गर्दछ । अन्यथा, हामी देशद्रोही प्रवृत्तिको प्रतिकारका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने स्पष्ट चेतावनी दिन चाहन्छौँ।’
अनेरास्ववियुले अमर्यादित र राष्ट्रघाती अभिव्यक्तिको कारक बनेको व्यक्तिलाई संसद्बाट तत्काल निलम्बन गर्न माग समेत गरेको छ।