योग मानव जीवनको बहुआयामिक पक्ष हो : ओली

हिमाल प्रेस ७ असार २०८२ १२:५५
योग मानव जीवनको बहुआयामिक पक्ष हो : ओली

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएको बताएका छन्।

‘सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य भएको बताए।

‘योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिए।

‘पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डक्टरको संख्या बढाउनेभन्दा बढी रोगीहरुको संख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,’ उनले भने।

उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी भएको बताए।

‘आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहंकारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,’ उनले भने।

प्रकाशित: ७ असार २०८२ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast