
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
सवारी खरिदसहित निर्माण योजनाहरूमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन कार्यकारी निर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, सवारीचालक विक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साह, ठेक्केदार जितेन्द्र यादव र कार्यकारी निर्देशक ठाकुरकी पत्नी इन्दुलेखाकुमारी ठाकुरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तत्कालीन कार्यकारी निर्देशक ठाकुरमाथि श्रीमतीको नाममा खरिद गरेको गाडीको पैसा सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको, गाडीको इन्धन र मोबलिको नाममा राज्यकोषको दुरुपयोग गरेको अख्तियारको आरोप छ।
अख्तियारले उनीहरूमाथि ५१ लाख ७१ हजार रुपैयाँ नोक्सान गरेको आरोप लगाए पनि आरोपितहरूमाथिको मागदाबी गरेको विगो रकम फरक–फरक छ।