
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी असार ७ गते मनाइने ११औं विश्व योग दिवसलाई “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यसहित सार्थक र भव्य रूपमा मनाउन सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।
केन्द्रका निर्देशक रामप्रसाद शर्माको हस्ताक्षर रहेको निर्देशन अनुसार मन्त्रालयको असार ३ को पत्र र २०८२/०२/२९ मा बसेको मूल समारोह समितिको बैठक निर्णयअनुसार योगको मर्म अनुसार दिवस मनाउन सम्पूर्ण जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार तथा समन्वय गरी विद्यालय तथा शैक्षिक संस्थाहरूमा विविध कार्यक्रमहरू आयोजना गर्न अनुरोध गरिएको छ।
निर्देशनअनुसार विद्यालयहरूले योगको वैज्ञानिक महत्व र स्वास्थ्यप्रति सकारात्मक प्रभावबारे विद्यार्थीसहित अभिभावक, शिक्षक र समुदायलाई जानकारी दिने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
शिक्षा विकास तथा समन्वय एकाइहरूलाई आफ्ना जिल्लाभित्रका सम्पूर्ण विद्यालय र शैक्षिक संस्थामा योग दिवस सम्बन्धी कार्यक्रमहरू गराउन समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
योग स्वास्थ्य, मानसिक सन्तुलन र जीवनशैली सुधारमा प्रभावकारी हुने भएकाले विद्यार्थीहरूमा यसको व्यवहारिक अभ्यास विस्तार गर्नु दिवसको प्रमुख उद्देश्य रहेको केन्द्रले स्पष्ट पारेको छ।
सम्बन्धित सबै एकाइलाई योग दिवस सफल बनाउन आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ।