‘डल्ले खोला’ : विकासको नाममा भएको मोहरा

सुस्मिता बजगाईं ७ असार २०८२ १६:५५
40
SHARES
‘डल्ले खोला’ : विकासको नाममा भएको मोहरा

काठमाडौँ– समय अहिले वर्षायामको छ। दैनिक परिरहेको पानीले सहरबासीको यात्रामा केही कठिन बनाइरहेको छ। गाउँमा यही पानीको भरमा खेतिपातीमा व्यस्त किसानलाई धान रोप्नको चटारो छ। ठूलो पानी परेपछि खोलामा भेल बाढी आउँछ। बाढी आउँदा बेलुका घर कसरी फर्किने भन्ने उनीहरूको चिन्ता छुट्टै हुन्छ।

यही वर्षायाम, खोला र त्याहाँका मानिसहरूको जनजीवन समेटिएको नाटक ‘डल्ले खोला’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। नाटकको कथा २०४०/४१ सालतिरको हो। कथा साहित्यकार परशु प्रधानले लेखेका हुन्।

कथामा कथाकार प्रधानले खोटाङस्थित डल्ले खोलामा पुल, कुलो/नहर बनाउने नाममा भ्रष्ट समाजसेवीले गरेको लुटतन्त्रलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गरेका छन्।
कथाको मुख्य पात्र नै डल्ले खोला हो। अन्य पात्रमा यही खोलाको नाममा भ्रष्टाचार गर्ने रनबहादुर, शिवबहादुर र सोझा गाउँलेहरू छन्। डल्ले खोलाले वर्षेनी कहिले मान्छे त कहिले गाइवस्तु बगाएर उदण्ड मच्चाइरहेको छ। गाउँलेहरू यसबाट आजित छन्। खोलामा पुल बनाउन बजेट निकास हुन्छ।

तर गाउँका अगुवाहरूले त्यही पुलको नाममा कसरी आर्थिक लाभ लिइरहेका छन्, आफ्नो गुजारा चलाइरहेका हुन्छन्, भन्ने रनबहादुर र शिवबहादुर पात्रमार्फत देखाइएको छ। रने डल्ले खोलामा पुन बनाउने भन्दै एक हजार ल्याउँछ र छोरीको विवाहको लागि खर्च गर्छ। र गाउँललेलाई देखाउन काठको पुल ते¥स्याइदिन्छ। केही दिनपछि बाढीको भेलले त्यो पुल बगाइदिन्छ।

अर्कोपात्र शिवबहादुरको पत्नि पनि त्यहि खोलले बगाएको छ। घरमा एक्ली छोरी छे तर उ कौडा खेलेर दैनिकी बिताउँछ। खेलमै आफ्नो खेत सिध्याउँछ। खेल्नको लागि सुको नभएपछि त्यही खोलालाई मोहोरा बनाउँछ। खोलाको पानी बाली लगाउन सिँचाइतर्फ ल्याउने आश्वासन देखाउँदै बजेटको लागि धाउँछ। १० हजार ल्याउँछ तर एक हात कौडामै हार्छ। यसरी खोलाको नाममा वर्षेनी बजेट आउने तर भ्रष्ट व्यक्तित्वले आर्थिक लाभ लिइरहेको प्रसँग कथामा छ। यही कथालाई नाट्यशैलीमा ढालिएको छ। कथामा भनिएजसरी उही समय र उहीँ गाउँका मानिसहरूलाई समेट्दै नाटकको कथा बहेको छ।

कथालाई रंगकर्मी वेदना राईले परिकल्पना र निर्देशन गरेकी हुन्। नाटकमा डल्ले खोलालाई त्याहाँका मानिसहरूको आफ्नो कमाइ खाने भाडो बनाएको मुख्य कथा प्रस्तुत गरिएको छ। खोला देखाएर बजेट लिने अनि आफ्नो व्यावहार चलाउने भ्रष्ट समाजसेवी प्रवृति भएका व्यक्तित्वप्रति तिखो व्यङ्ग्य गरिएको छ।

रनबहादुर र शिवबहादुरले कहिले पुल बनाउँछु त कहिले कुलो नहर बनाउँछु भनेर बजेट ल्याउँछन्, गाउँलेलाई मख्ख पार्छन्, तर ती पैसा आफ्नै व्यावहारका लागि चलाउँछन्, गाउँमा अर्को भ्रष्टाचारी थपिन्छ। गाउँलेको पीडा ज्यूँ का त्यूँ। यस्ता प्रसँग आज पनि राजनीतिक परिवेशमा कयौैं छन्। एउटै ठाउँको विकासमा पटकपटक बजेट आउँछ, काम बन्दैन्। कतिपय बजेट कागजमै सीमित भइरहेको छ। प्रधानको कथाले पञ्चायतकालीन समयलाई संकेत गरेपनि पनि नाटक मञ्चन आज पर्यन्त सान्दर्भिक र समयानुकुल बनेको छ भन्न सकिन्छ।

अन्त्यमा देखाएको नौलो व्यक्ति खोला तर्दै आउनु र पुल बनाउँछु भन्नुले विकासको काम दीगोपन नहुँदा नयाँ भ्रष्टचारी थपिरहन्छन् भन्ने देखाइएको छ।

खोलाको काम नै हो बग्ने। गाउँका मानिसहरूलाई दुःख दिनु उसको नियती होइन्। यदि खोला बोल्थ्यो भने मान्छेहरूसँग कसरी कुरा गर्थ्यो होला?, खोला र मान्छेबीचको सम्बन्ध, मानवप्रतिको आशा र वेदना कस्तो हुन्थ्यो होला? भन्ने कुरालाई पनि नाटकमा पात्रमार्फत देखाउन खोजेको छ। खोला बनेर आएका ती पात्रहरूले प्रयोग गरेका पहिरन, चाल र अभिनयले नाटकलाई सशक्त बनाएको छ।

सामाजिक यथार्थ कथामा आधारित नाटकले पहाडी भेगको ग्रामीण जनजीवनलाई प्रस्तुत गरेको छ। राई/लिम्बू समुदायको संस्कार र संस्कृति केन्द्रित नाटकमा खोलाको कारण उनीहरूले पाएको दुःखलाई प्रस्तुत गरिएको छ। वेदना राईको निर्देशनतर्फको यात्रा केही आशालाग्दो देखिन्छ।

त्यस्तै नाटकमा प्रयोग गरिएको संगीतको भाव, ध्वनिले पनि नाटकलाई थप सशक्त बनाएको छ। पात्रले बोल्ने संवाद शैलीमा भने केही तिखोपन लाग्न सक्छ। यद्यपी झिनो कथामा पात्रअनुसार कलाकारको अभिनय, संगीतको प्रयोगले नाटकमा केही मिठास थपेको छ।

प्रकाशित: ७ असार २०८२ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast