इजरायल–इरान संघर्ष : अमेरिकी दूतावासनजिक खस्यो इरानी मिसाइल

हिमाल प्रेस २ असार २०८२ १६:३९
40
SHARES
इजरायल–इरान संघर्ष : अमेरिकी दूतावासनजिक खस्यो इरानी मिसाइल तस्बिर : एफपी

काठमाडौँ- इरानले सोमबार फेरि इजरायलमाथि मिसाइल प्रहार गरेको छ। यस क्रममा इजरायलभरी सायरन बजाइएको थियो।

इजरायलको आकस्मिक सेवाका अनुसार चौथो दिन इरानका तर्फबाट भएको मिसाइल आक्रमणमा पाँच जनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
योसँगै इरानले गरेको आक्रमणमा मृत्यु हुने इजरायलीको संख्या २४ पुगेको छ।

यता इजरायली सेनाले इरानको राजधानी तेहरानस्थित १० कमाण्ड केन्द्रमाथि आक्रमण गरेको जनाएको छ। यी कमाण्ड केन्द्रहरू इरानको कुद्स फोर्ससँग सम्बन्धित रहेको र इरानको रिवोल्युसनरी गार्डको प्रमुख हिस्सा रहेको बताइएको छ।

इरानका अनुसार उसले एक सय मिसाइल इजरायलमाथि प्रहार गरेको छ। यसका साथै उसले आफ्नो सैन्य र परमाणु ढाँचामाथि भएको आक्रमणको बदला लिने चेतावनी दिएको छ। अहिलेसम्म इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा २२४ जनाको ज्यान गएको बताइएको छ।

इरानले इजरायलको डिफेन्स प्रणालीलाई लक्षित गरेर मिसाइल प्रहार गरेको जनाइएको छ। इजरायलको आकाशमा लगातार धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पेटा तिकवा सहरको एक आवासीय भवनमा इरानको मिसाइल खसेको इजरायल प्रशासनले पुष्टि गरेको छ।

अमेरिकी दूतावासनजिक खस्यो इरानी मिसाइल

इरानले प्रहार गरेको एउटा मिसाइल इजरायलस्थित अमेरिकी दूतावासनजिक खसेको छ। इजरायलस्थित अमेरिकी राजदूत माइक हुकाबीले यो जानकारी दिएका हुन्।

इरानले प्रहार गरेको एउटा मिसाइल राजधानी तेल अभिभस्थित दूतावासनजिक खसेको राजदूत हुकाबीले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

यद्यपि यसबाट कुनै क्षति नपुगेको उनले बताएका छन्।

इजरायल र इरानबीच जारी संघर्षमा दुवैतर्फ क्षतिको आँकडा बढिरहेको छ। इजरायलको आकस्मिक सेवाले जनाएअनुसार सोमबार इरानको तर्फबाट भएको आक्रमणमा कम्तीमा पाँच जनाको ज्यान गएको र कैयौँ मानिस घाइते भएका छन्।

इरानको तर्फबाट ३७० मिसाइल र सयौँ ड्रोन आक्रमणमा परी अहिलेसम्म २४ जनाको ज्यान गएको र पाँच सयभन्दा बढी मानिस घाइते भएको इजरायलले जनाएको छ।

इजरायली रक्षामन्त्रीको चेतावनी

इजरायलका रक्षामन्त्री इसराइल कात्जले इरानको आक्रमणमा परी इजरायली नागरिकको ज्यानको मूल्य तेहरानको नागरिकले चुकाउनुपर्ने चेतावनी दिएका छन्।

उनले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले नियतवस इजरायलको आमनागरिकलाई निशाना बनाएको आरोप लगाए।

रक्षामन्त्री कात्जले इरानका सर्वोच्च नेता खामेनेईलाई ‘डरपोक हत्यारा’ र ‘घमण्डी तानाशाह’ भनेका छन्।

इजरायलले चाँडै जवाफी कारबाही गर्ने उनले चेतावनी दिए।

प्रकाशित: २ असार २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast